काठमाडौँ - शनिवार काठमाडौँमा दुई राजनीतिक दलका साथै राजावादी समूहले सडक प्रदर्शन गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्दैछ ।
बिहान साढे ११ बजे माओवादीका कार्यकर्ताहरूले भद्रकाली, सुन्धारा, काठमाडौँ मल अगाडि भेला भई ती स्थानबाट जुलुस निकाल्दैछन् । जुलुसले रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकसम्म प्रदर्शन गर्ने तयारी छ । राष्ट्रिय सभागृह अगाडिको सडकमा सभास्थल बनाइएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलका सभापति रवि लामिछानेलाई सरकारले झुठा मुद्दामा फसाएको भन्दै माइतीघर मण्डला केन्द्रित भई विरोध प्रदर्शन गर्दैछ ।
यस्तै आजै काठमाडौँमा राजावादी समूह ‘शाही युवा शक्ति, नेपाल’ ले गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासन राख्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्यालीको आयोजना गर्दैछ ।
प्रतिक्रिया