तिहारमा काठमाडौंका सडकमा फूल र माला बेच्न नपाइने

डिपार्टमेन्ट स्टोर र मलहरूबाटै किन्नुपर्ने

आइतबार, ११ कार्तिक २०८१, १२ : १९

काठमाडौं– यसपालिकाको तिहारमा काठमाडौंका सडक किनारमा राखिएका फूल र माला किन्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले जथाभावी फूल तथा माला बेचेको पाइए कारवाही गर्ने भएको छ ।

महानगरपालिकाले तिहारमा प्रयोग गरिने फूल र माला व्यापार गर्न ४४ स्थानमा व्यवस्था मिलाउने र त्यसको जानकारी  आज आइतबार दिने तयारी छ । कामपाले डिपार्टमेन्ट स्टोर, मल र व्यापारिक केन्द्रमा व्यवस्था मिलाएको हो। यसअघि बाटोबाटोमा जथाभावी व्यापार गर्ने प्रवृत्ति अन्त्य गर्न महानगरले यो कदम चालेको हो ।

कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले फूलमालाको अव्यवस्थित व्यापार अन्त्य गर्न निश्चित स्थान तोकेको जानकारी दिए। कामपा प्रहरीको संयोजनमा नेपाल फ्लोरिकल्चर एसोसियसन, व्यापारी, व्यापार संघ र संगठन, डिपार्टमेन्ट स्टोर, मललगायतका संस्थासहितको शुक्रवार बसेको बैठकमा तिहारमा तोकिएको स्थानमा मात्र फूलमालाको व्यापार गर्न दिने सहमति भएको हो।

होलसेलबाहेक साना व्यापारीले बिगमार्ट, सेल्सवेरी, भाटभटेनी, केके, मेट्रो मार्टलगायत ठूला मार्ट र मलमा व्यापार गर्ने व्यवस्था मिलाएको हो । 
 
सहमति बाहिर गएर तोकिएको स्थान बाहिर व्यापार गरे कारबाही गर्ने महानगर प्रहरीको चेतावनी छ ।

आइतबार, ११ कार्तिक २०८१, १२ : १९

प्रतिक्रिया