खबरदारी सभाले पलाएको झिनो आशा, चर्चित कविको भने आशंका

समाचार विश्लेषण

आइतबार, ११ कार्तिक २०८१, १५ : ५०

काठमाडौँ – सत्ताबाट बाहिरिएपछि प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)  पहिलो पटक  सडकमा देखिएको छ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पार गरे पनि देश र जनताका लागि खासै गतिलो काम केही गर्न नसकेको निष्कर्षमा पुगेको माओवादीले शनिबार काठमाडौँको भृकुटीमण्डपमा सरकार विरुद्ध खबरदारी सभा गरेको छ  ।
खबरदारी सभामा माओवादीले अपेक्षा गरेभन्दा धेरै मानिसहरुको उपस्थिति देखेर नेता कार्यकर्ताहरु उत्साहित भएका छन् । माओवादीका समर्थकहरु पनि पार्टी कतै हराएको ठानिरहेका थिए । पार्टी जनताकै बीचमा रहेछ भन्ने एउटा आशा पलाएको सभामा आएका सिन्धुपाल्चोकका एक जेष्ठ नागरिकले यस पंक्तिकारलाई बताएका छन् । अध्यक्ष प्रचण्डका अनुसार चार दिनकै तया।रीमा ‘यति ठूलो’ मास देखाउन माओवादी सफल भएको छ । 
शान्ति प्रक्रियापछि राष्टिय राजनीतिमा निकै कमजोर भएको माओवादी विभिन्न समूहमा विभाजित हुँदा कार्यकर्ता र समर्थक पंक्तिमा व्यापक निराशा छाएको थियो । ठोस ऐजेण्डा र कार्यक्रम बिहीन जस्तै भए पनि माओवादी संसदको अंक गणितको कारण पटक पटक सत्ताको नेतृत्वमा पुग्न सफल भएको थियो । सत्ताको नेतृत्व पटक पटक गरे पनि माओवादीले हिजो क्रान्तिमा योगदान गरेका नेता, कार्यकर्ता र आम जनताकै लागि पनि उल्लेख्य काम गर्न नसकेको भनेर पार्टीभित्रैबाट सरकार आलोचित भएको थियो । 
माओवादीभित्र अहिले व्यापक समीक्षा भैरहेको देखिन्छ । ऐतिहासिक विद्रोहको नेतृत्व गरेको पार्टी किन यति कमजोर भयो ? यसको मुख्य जिम्मेवार को हो ? माओवादी शक्ति किन विखण्डित भयो ? मूल नेतृत्वले किन पार्टी एकतालाई जोगाउन सकेन ? किन पार्टीमा गुटै गुटको जन्म भयो ? आदि प्रश्नहरुमा माओवादीले निर्मम समीक्षा गर्नैपर्र्छ । 
यतिबेला माओवादी केन्द्र पूर्व विद्रोही शक्ति मात्र होइन । बहुदलीय प्रतिष्प्रधामा पटक पटक सत्ताको नेतृत्व गरिसकेको संसदको प्रमुख प्रतिपक्षी दल पनि हो । संसदीय व्यवस्थामा प्रतिपक्षी दल कमजोर बन्नु भनेको समग्र लोकतान्त्रिक संरचना कमजोर भएको मानिन्छ । माओवादीले कम्तिमा पनि आफ्नो प्रतिपक्षी धर्म निर्वाह गरेको छ । माओवादी जाग्नु भनेको सत्तापक्षलाई जिम्मेवार बनाएर जनताको संवैधानिक हक अधिकारको सुरक्षाको प्रत्याभूति हुनु पनि हो । माओवादीको खबरदारी सभालाई यही रुपमा बुझ्नु पर्दछ । यद्यपी कतिपय आलोचकहरुले यति नै बेला किन माओवादी सडकमा आएर सरकार विरुद्ध प्रस्तुत हुनुपर्यो पनि भनिरहेका छन् । अहिले संसदको चौथो ठूलो दल राष्टिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने सहकारी ठगी प्रकरणमा थुनामा रहेका छन् । संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकारले उनलाई गिरफ्तार गरेको हो । यसमा माओवादी अध्यक्ष प्रचण्डको रविप्रति अलि नरम टोन नै देखिन्छ ।  उक्त प्रतिवेदनमा नाम भएका सत्ताधारी दलका नेतालाई सरकारले छोएन । प्रतिपक्षलाई मात्र पक्राउ गर्नु पूर्वाग्रह देखिन्छ भनेर प्रचण्डले खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा बताएका छन् । उद्यपी उनले आफू कानुनी कारबाहीको विरुद्धमा नभएको पनि बताएका छन् । सरकारले सय दिनमा देशको अर्थतन्त्रलाई पनि बलियो बनाउन सकेन । बरु झण्डै सय अर्व ऋण बोकाएको छ । समग्र अर्थतन्त्र नै डामाडोल बनेको अवस्थामा प्रतिपक्षी दलले गरेको खबरदारीले आम नागरिकमा झिनो आशा पलाएको अनुभूति गर्न सकिन्छ । माओवादी सरकारको आलोचनामा मात्र केन्द्रित हुनुहुदैन । उसले मुलुकलाई कसरी आर्थिक रुपमा सबल बनाउन सकिन्छ भनेर जनतामा आशा जगाउन पनि सक्नु पर्दछ ।  

सभामा उत्साहित हुदै प्रचण्डले भने, ‘चार दिनको तयारीमा विशाल सहभागी भएकोमा मलाई गर्व लागेको छ । त्यसका लागि सबैलाई आभार व्यक्त गर्न चाहन्छु । भनिन्छ, बिहानले बेलुकाको सङ्केत गर्छ’, उत्साहित हुँदै उनले भने, ‘यस सभाको सन्देशलाई सरकारले गम्भीर रूपमा लिएन भने भोलिको दिन कस्तो हुन्छ, खबरदारी सभाले सन्देश दिएको छ ।’
सय दिनको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरे पनि भ्रष्टाचारको सवालमा मौनता साँधेको देखिन्छ । अदालतमा मुद्धा विचाराधिन रहेका विवादास्पद व्यापारी मिनबशादुर गुरुङ्गबाट अर्बभन्दा बढी दान लिएर आलोचित बनेको बेला प्रतिपक्षले उठाएको आवाजमा दम देखिएको बताइन्छ । रविलाई समातेर ठूला भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिन खोजेको आरोप सरकारलाई लाग्दै आएको छ । यतिबेला जनतामा सरकारको कार्यशैली प्रति चर्को असन्तुष्टि रहेको छ , जसको प्रतिनिधित्व माओवादीले गर्न खोजिरहेको देखिन्छ । माओवादी नेताहरुकै दाबी अनुसार पनि सभामा झण्डै २० हजार मानिस सहभागी थिए । माओवादीप्रति जनताको वितृष्णा बढेको भनेर प्रचार गरिएको बेला भएको यो सहभागिताबाट समग्र पार्टी पंक्ति उत्साहित भएको देखिन्छ ।

सो खदरदारी सभामा उपस्थित केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले ‘भ्रष्ट ओली सरकारविरुद्ध खबरदारी सभामा उत्साहजनक सहभागी भएको’ भन्दै खुसी व्यक्त गरेका छन् । ओली सरकारले अघिल्लो पटक प्रचण्ड नेतृत्वको सरकारले अगाडि बढाएको सुशासनको अभियानलाई समाप्त पार्ने, भ्रष्टाचारीलाई जोगाउने, जनविरोधी गतिविधि गर्ने काममा ओली सरकार रहेकाले त्यसको विरोधमा खबरदारी गर्नुपरेको उनको भनाइ थियो ।

‘प्रचण्ड सरकारले अगाडि बढाएको सुशासनको अभियानलाई समाप्त पारी भ्रष्टाचारीलाई जोगाउन ओली सरकार बनेको हो । पूर्वसूचना हुँदासमेत विपद् व्यवस्थानका लागि सरकार गम्भीर देखिएन । यो प्रारम्भिक खबरदारी सभामात्र हो । अब देशभर अभियानकै रूपमा खबरदारी गर्नेछौँ’, शर्माले भने ।

त्यसैगरी उक्त कार्यक्रममा सहभागी अखिल क्रान्तिकारी बानेश्वर क्याम्पसकी सहसचिव स्मृति कार्कीले ओली सरकारको प्रतिगमनविरुद्ध माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने दाबी गरिन् ।

खदरदारी सभामा माओवादीले राजधानी आसपासका जिल्लाबाट सहभागी गराएको थियो । माओवादी वुद्धिजीवी बुद्धि विश्वकर्माले ‘पार्टी विभाजन र चरम निराशाका बीचमा पनि जनताले माओवादीलाई सुन्न चाहेको देखियो । खबरदारी सभामा भएको उपस्थितिले सबैलाई उत्साहित बनाएको छ । अब माओवादी गुटहरुको सही व्यवस्थापन गरेर अघि बढ्नुपर्दछ’ भनेका छन् ।  सिन्धुपाल्चोकबाट आन्दोलनमा सहभागी हुन आएका एक ज्येष्ठ नागरिकले माओवादी आन्दोलनको क्रममा हजारौँ व्यक्तिले बलिदान गरेको भन्दै फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्न पार्टी तयार हुनुपर्ने बताए । ‘आन्दोलनलाई थप हौसला दिनका लागि म खबरदारी सभामा आएको हुँ’, उनले भने ।
खबरदारी सभालाई माओवादीले ऐतिहासिक भने पनि चर्चित कवि अर्जुन पराजुलीले भने आशंका गरेका छन् । उनले माओवादी पनि उही मुलाको चाना हो भन्ने अर्थमा कुर्सी नपाउन्जेल मात्र घाइते, शहीद र सहयोद्धालाई सम्झेको बताएका छन् । कवि पराजुली २०६२र ६३ को जनआन्दोलनका चर्चित कवि हुन । अहिले पनि उनी समाजको यथार्थलाई तीखो रुपमा व्यंग्य गर्ने गर्दछन् । उनको कविताले माओवादी नेतृत्वलाई पहिलो गाँसमै ढुंगा बनाइदिएको एक केन्द्रीय सदस्यले यस पंक्तिकारलाई बताएका छन् ।

हेर्नुहोस कवि पराजुलीको ताजा कविता : 

kabita

आइतबार, ११ कार्तिक २०८१, १५ : ५०

प्रतिक्रिया