बकैया गाउँपालिका र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता

सोमबार, १२ कार्तिक २०८१, १२ : ३९

काठमाडौँ - शिक्षाको गुणस्तर सुधारका लागि बकैया गाउँपालिकाले आइतबार काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । 

गाउँपालिका र विश्वविद्यालय बिच आगामी २०८२ कार्तिक १० गतेसम्मका लागि सम्झौता गरिएको हो । केयू बकैया फेलोसिप कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम कार्यान्वयन गर्नको लागि सम्झौता भएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।

 शैक्षिक अवस्था कमजोर भएका बकैयाका विद्यालयहरूको सुधारका लागि विश्वविद्यालयसँग सम्झौता गरेको उनले बताए । सम्झौता पश्चात् बकैया गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१\८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण एवम् केयूको सहकार्यमा शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान, फेलोसिप कार्यक्रम कार्यान्वयनमा अघि बढ्ने उनको भनाई छ ।

अध्यक्ष लामिछानेका अनुसार कृषि र शिक्षाको सुधारको लागि पालिकाले प्रयास गरिरहे पनि पर्याप्त भएन । गाउँपालिकाको शिक्षाको अवस्था अझै कमजोर भएकाले सुधारको थप प्रयासका लागि विश्वविद्यालयसँग सहकार्य गरिएको उनले बताए ।

सो कार्यक्रमले शिक्षकलाई उत्प्रेरित गरि शिक्षाको सुधारमा जोड दिने उनले विश्वास व्यक्त गरे । यस्तै सम्झौताका बिच पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले गाउँपालिका कार्यक्रम सफल पार्न दृढ रहेकोमा बताए ।

उक्त कार्यक्रमले शैक्षिक सुधारमा व्यवहारिक रूपमा काम गर्नुपर्ने उनको भनाई छ । कार्यक्रमले गाउँपालिकाको शैक्षिक गुणस्तरमा परिवर्तन आउने उनले अपेक्षा व्यक्त गरे ।
 

सोमबार, १२ कार्तिक २०८१, १२ : ३९

प्रतिक्रिया