काठमाडौं- विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ।
ट्रम्पको जितले आगामी दिन वैश्विक राजनीतिमा पार्ने प्रभावका विषयमा अनेकौं आंकलन गर्न थालिएको छ । उनको जितसँगै रुस युक्रेन युद्ध र विश्वका अन्य राष्ट्रहरुप्रतिको अमेरिकन नीतिमा प्रभाव पर्ने जानकारहरुले बताउँदै आएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ट्रम्पलाई बधाइ दिँदै शान्ति आउने आशा व्यक्त गरेका छन्। जेलेन्स्कीले भने, ‘डोनाल्ड ट्रम्पलाई चुनावमा ठूलो जित हासिल गरेकोमा बधाई छ ।’
एक्समा उनले लेखेका छन्, ‘हामी विश्व मामिलामा शक्ति मार्फत शान्तिको लागि ट्रम्पको प्रतिबद्धताको प्रशंसा गर्छौं । यो सिद्धान्तले युक्रेनलाई शान्तिको नजिक ल्याउन सक्छ । मलाई आशा छ कि हामी योसँगै हासिल गर्नेछौं ।’
अर्को शक्ति राष्ट्र चीनले पनि अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनसँग आपसी सम्मानका आधारमा काम गर्ने प्रतिक्रिया दिएको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावमा निर्वाचित भएको दाबी गरेपछि अमेरिकासँग आपसी सम्मानको आधारमा काम गर्ने स्पष्ट पारेको हो।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो अमेरिकी नीति स्थिर छ। हामी चीन–अमेरिका सम्बन्धलाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित–जितको सहयोगका सिद्धान्तहरूको आधारमा हेर्ने र सम्हाल्ने प्रक्रिया जारी राख्नेछौँ।’
आफू जिततर्फ अग्रसर देखिएपछि ट्रम्पले समर्थकहरूलाई सम्बोधन समेत गरेका छन् । ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजय घोषणा गरेका छन् ।
उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले भने, “हामी हाम्रो देशलाई उठाउन मद्दत गर्नेछौं।” ट्रम्पले यो अमेरिकाको लागि “स्वर्ण युग” हुने बताए ।
उनले भने, “यो अमेरिकी जनताका लागि ठूलो विजय हो। जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।”
ट्रम्पको अभियानको नारा थियो(मेक अमेरिका ग्रेट अगेन। यसको मतलब अमेरिकालाई फेरि महान बनाउनु हो। ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् ।
ट्रम्पले भने, “अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ।”
ट्रम्पले फ्लोरिडामा रहेको चुनावी मुख्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दैछन्। उनको कुरा सुन्न यहाँ ठूलो संख्यामा मानिसहरु आएका छन्।
प्रतिक्रिया