मध्य भोटेकोसी जलविद्युत आयोजनाले थाल्यो प्राविधिक परीक्षण

स्थानीयलाई नदी किनारामा नबस्न अनुरोध

शुक्रबार, २३ कार्तिक २०८१, १० : ०२

काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिकास्थित लार्चामा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाले प्राविधिक परीक्षण सुरु गरेको छ।

आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टप लग, सुरुङ लगायत अन्य हेडवर्कसका संरचनाहरूको प्राविधिक परीक्षण कार्तिक २२ गतेदेखि मङ्सिर १८ गतेसम्म गरिने भन्दै आयोजनाले स्थानीयलाई नदी किनारामा नबस्न अनुरोधसमेत गरेको छ। 

आयोजनाले सूचना जारी गर्दै भोटेकोसी गाउँपालिका वडा नं. १, २ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं. ३, ५, ६, ७ र ८ का स्थानीयलाई नदी किनारामा गरिने सबै क्रियाकलापलाई बन्द गर्न आग्रह गरेको हो।

‘परीक्षणको क्रममा उपर्युक्त समयावधिमा आयोजनाको बाँध स्थलमा भोटेकोसी नदीको पानी छेक्ने र छोइने कार्यहरू गरिरहनु पर्ने र कुनै बेला एकै पटक ठुलो परिमाणमा पानी छोड्नुपर्ने भई बाँध स्थलभन्दा तल्लो तटीय क्षेत्र अन्तर्गत भोटेकोसी नदी किनारमा पर्ने नयाँ पुल, सखुवा, बोर्डर ल्यान्ड, बसेरी, ढालेकुना, जिरो, चित्रे बजार, जम्बु, सिरिसे, खागदल, खुर्सानीबारी, बाह्रबिसे बजार, राम्चे बजार, जुरे तथा सुनकोसी ड्याम साइड बजारसम्म नै भोटेकोसी नदीको पानीको सतह घटबढ भइरहने भएकोले उपर्युक्त अवधिमा भोटेकोसी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगा गिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरू नगर्न नगराउन हुन सर्वसाधारण सबैमा यो सूचना जारी गरिएको छ,’ आयोजनाद्वारा जारी सूचनामा भनिएको छ।

सरकारको अनुमति अनुसार परीक्षण अवधिभरि नदी किनारामा कुनै पनि काम नगर्न अनुरोध गरिएको आयोजनाका लेखा तथा प्रशासन प्रमुख अरुण न्यौपानेले जानकारी दिए। ‘हामीले गाउँपालिका, नगरपालिका, प्रहरी कार्यालय र प्रशासन कार्यालयको अनुमतिमा परीक्षण अवधिभरका लागि नदी आसपासका गतिविधि नगर्न अनुरोध गरेका हौं’, उनले भने,‘कुनै प्राविधिक कारणले गर्दा उपर्युक्त परीक्षण कार्यको समयावधि केही समय थपघट हुनसक्छ। तर हामी तोकिएको समय सीमाभित्रै परीक्षण सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छौँ।’

सूचनाको अवज्ञा गरी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगा गिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरू गरी कुनै अप्रिय घटना हुन गएमा आयोजना तथा कम्पनी जिम्मेवार नहुने समेत उनले जनाए। सो अवधिमा कुनै समस्या भए स्थानीयलाई आयोजनासँग सम्पर्क गरी समस्या सुल्झाउन समेत पौडेलले आग्रह गरे।

आयोजनाले प्राविधिक परीक्षण सकिए लगत्तै विद्युत् उत्पादन गर्ने जनाएको छ। तार तान्ने काम सकिएको र परीक्षण पनि सुरु भइसकेकोले मङ्सिरको तेस्रो सातादेखि विद्युत् उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ । 

शुक्रबार, २३ कार्तिक २०८१, १० : ०२

प्रतिक्रिया