प्रभु ग्रुपका अध्यक्ष भट्टचनद्वारा सहकारीको ९८ करोड झ्वाम !

शुक्रबार, २३ कार्तिक २०८१, १३ : १०

काठमाडौं- प्रभु बैंक, प्रभु मनी ट्रान्सफर लगायतका  विभिन्न व्यावसायिक कम्पनीहरु सञ्चालन गर्दै आएको प्रभु ग्रुपका अध्यक्ष एवं एमाले सांसद देवी प्रकाश भट्टचन सहकारी ठगी प्रकरणमा मुछिएका छन्।

प्रभु ग्रुप अन्तर्गतको प्रभु मनि ट्रान्सफर मार्फत नेपाल भित्रिने रेमिट्यान्स रकम विदेशमै निकालेर सो रकम देशका विभिन्न सहकारीबाट लिएर भुक्तानी गरेको आरोप भट्टचनमाथि लागेको छ।कांग्रेस पृष्ठभूमिका भट्टचन पैसाकै आडमा एमालेको समानुपातिक कोटाबाट प्रतिनिधिसभाको सांसद भएका हुन्। 

प्राप्त विवरण अनुसार उनले आफ्नो प्रभु मनी ट्रान्सफर मार्फत विदेशबाट आउने रकमलाई उतै हुण्डी गरेर बुझ्ने र नेपालका सहकारीबाट सो बापतको रकम निकालेर यता भुक्तानी दिँदा सहकारीको करिब ९८ करोड रुपैयाँ अपचलन भएको हो।

सो रकम भुक्तानीका लागि विभिन्न सहकारीहरुले प्रभु म्यानेजमेन्टमा सम्पर्क गरेपछि त्यस ग्रुपकी अध्यक्ष कुसुम लामाले भट्टचनविरुद्ध उजुरी दिएकी हुन्।
प्रभु म्यानेजमेन्टले देशका विभिन्न रकम लिइएका सहकारीलाई पत्र लेख्दै अध्यक्ष एवं सांसद भट्टचनबाटै उक्त रकम असुल उपर गराइने बताएको छ।

प्रहरीले सांसद भट्टचनको प्रभाव र दबावले उजुरी लिन नमाने पछि लामाले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएकी छिन्। 

लामा र भट्टचन पूर्वव्यावसायिक साझेदार हुन्। यी दुबैको सभाझेदारीमा प्रभु ग्रुप अन्तर्गका विभिन्न व्यावसायिक कम्पनिहरु सञ्चालनमा रहेका थिए। पछिल्लो समय एक अर्काले मनोमानी तवरले प्रभु ग्रुप अन्तर्गतका कम्पनीको कारोबार सञ्चालन गर्दा व्यावसायिक जीवनमा खटपट आएर मुद्दा मामिलाको चरणमा पुगेको बताइन्छ।

यसबारेमा बुझ्न प्रभु ग्रुपका अध्यक्ष एवं सांसद भट्टचनलाई सम्पर्क गर्दा उनले आफ्नो प्रभु ग्रुप लगानी कम्पनीको रुपमा रहेको बताउँदै पाँच वर्ष अघि नै प्रभु बैंक छाडेको बताए। प्रभु म्यानेजमेन्टले लिएको ऋण नतिर्न र आफ्नो व्यावसायिक संकट टार्न आफूमाथि दोषारोपण गरिएको भट्टचनले आरोप लगाए। उनले कहिँकतैको सहकारीमा पनि आफ्नो नाममा ऋण नरहेको जिकिर गरे।

465888530_1567375857226406_2937746347933827525_n

शुक्रबार, २३ कार्तिक २०८१, १३ : १०

प्रतिक्रिया