काठमाडौं– बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः लाइन जोडिन नसक्ने भएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय प्राधिकरणलाई औपचारिक पत्राचार नहुँदा समयमै कार्यान्वयन हुन नसक्ने भएको हो ।
कार्यालय समय सुरु भइसक्दा सम्म पनि सरकार वा मन्त्रालय कहिँबाट पनि विद्युत प्राधिकरणलाई औपचारिक जानकारी नभएकाले ‘बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः लाइन जोडिने’ भन्ने मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय लागु हुन असम्भव जस्तै भएको हो । यो अन्यौलतामा बोर्डको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने विद्युत प्राधिकरणले जनाएको छ । बोर्डको बैठक बसेर निर्णय नगरीकन उद्योगमा लाइन जोडिने काम अगाडि नबढ्ने समेत प्राधिकरणले बताएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल नबुझाएका उद्योगहरूमा काटिएको लाइन आज मध्याह्न १२ बजेसम्म जोड्ने र ती उद्योगहरूबाट १५ दिनभित्र टिओडी मिटरका आधारमा बक्यौता उठाउने निर्णय गरेको थियो ।
तर, सोमबार बिहानसम्म पनि सरकार वा मन्त्रालयले भने प्राधिकरणलाई सो सम्बन्धी कुनै औपचारिक निर्देशन भने दिइसकेको छैन ।
प्रतिक्रिया