काठमाडौं- बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको छ।
तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ। ती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित हुनसक्ने मौसमविद्ले उल्लेख गरेको छन्।
प्रतिक्रिया