शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव घट्ने, आज देशभर वर्षा र हिमपातको सम्भावना

शुक्रबार, १३ कार्तिक २०८३, १२ : २१

काठमाडौं– नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार अपराह्नदेखि वर्षाको गतिविधि पनि घट्दै जानेछ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविद् डेभिड ढकालले शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमिक रूपमा कम हुने भए पनि मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन्।

भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्दा कमजोर न्यूनचापीय प्रणालीका रूपमा परिणत भएकाले नेपालमा वर्षा, हिमपात र हावाहुरीको प्रभाव सामान्य रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ।

ती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ। यस अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ५०.२ मिलिमिटर वर्षा मापन भएको छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ।

शुक्रबार, १३ कार्तिक २०८३, १२ : २१

प्रतिक्रिया