काठमाडौं– मह जोडीले नेपालमा करिब दश वर्षपछि पुनः ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने भएका छन् । मह संचार र सुश्री मिडिया प्रा.लि.को सहकार्यमा हुन गइरहेको उक्त कार्यक्रम मिरा फाउन्डेसन र मानवसेवा आश्रमको सहयोगार्थ हुनेछ । प्रहसनकालागि रियल्सल लगायतका सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले टिमले जनाएको छ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते हुनेछ ।
प्रहसनमा किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतजस्ता ख्यातिप्राप्त हास्य कलाकारहरूको प्रस्तुति रहनेछ । यस प्रहसनको प्रमुख उद्देश्य हास्य–व्यंग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको छ ।
कार्यक्रमहरुमा मह जोडीले नेपाली समाजका परम्परा, राजनीतिक एवं सामाजिक संरचना र सांस्कृतिक कुरितीहरूलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने र यो विशिष्ट र मौलिक शैलीमा हुने हास्य कलाकार किरण के.सी ले बताएका छन् ।
मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू, जस्तै यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता, र सपथ ग्रहण जस्ता प्रस्तुति नेपाली हास्य क्षेत्रमा अत्यन्त स्मरणीय रहेका छन् । हाल मदनकृष्ण श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन् । उनले आफ्नो स्वास्थ्यले साथ दिएसंम्म कलाकारीता क्षेत्रमा लागिरहने बताउदै साथी हरिवंशलाई सधैं साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन् ।
दश वर्षको अन्तरालपछि फेरि मंचमा एकसाथ आउने मह जोडीले पुरानो शैलीको हास्य–व्यंग्यलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको बताइन्छ । यो प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको समिश्रण हुने, जसले दर्शकलाई हसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न अवश्य प्रेरित गर्नेछ भन्ने आयोजकको विश्वास रहेको छ ।
प्रहसनका लागि रियल्सल गरिरहेका कलाकारहरुका अनुसार हालैका वर्षहरूमा नेपाली समाजमा भएका विविध राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण यस प्रहसनमा देख्न पाइनेछ, जसले दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउने छ । यो ‘मह जात्रा’ नेपाली हास्य–व्यंग्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ ।
प्रतिक्रिया