काठमाडौं– गत असोज ११ र १२ गतेको अविरल वर्षाको कारणले आएकाे बाढी पहिरोबाट पीडित भएका खानीखोलावासीहरुलाई बिहीबार राहत सामाग्री वितरण गरिएको छ ।
प्रति परिवार १ बोरा चामल, १ थान फाइवर सिरक, १ थान त्रिपाल, १ थान म्याट्रिक्स र १ थान झुलको दरले पूर्ण क्षति भएको ५० घर परिवारलाई राहत उपलब्ध गराइएको थियो। यस्तै बाढी पहिरोले बिग्रेको खानेपानी योजनाहरु मर्मत गरि खानेपानी सञ्चालन गर्न २० एम.एम. को ४ क्वाइल पाईप (१२०० मिटर) गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।
समाजसेवी दैवलाल घिसिङ(अनुशील) र राजन अधिकारीको प्रत्यक्ष पहलमा बोधिसत्व विहार बुढानिलकण्ठ, काठमाडौं र कान्छीमाया तामाङ फाउन्डेसन, धुलिखेलले राहत सामाग्रीहरु खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ्(छिन्ताङ) लाई हस्तान्तरण गरेको थियो ।
यसैबिच रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुग्नु भएका खानीखोला–५ निवासी दिनेश तिमल्सिना र श्याम थोकरले बाढी पहिरो पीडितहरुलाई राहतको लागि आफ्नो सहयोगी साथीहरूबाट संकलन गरेको रु. १,२५,१२२/– ले ३५ सेट सिरक, डसना, तन्ना, सिरानी र खोल खरिद गरेर गाउँपालिकामा हस्तान्तरण गरेका थिए।
वाईसिएल, नेपालको केन्द्रीय सदस्य वर्षा रानाले पनि ४५ वटा टि सर्ट उपलब्ध गराएका थिए। उक्त टि–सर्ट बाढी पहिरो पीडितलाई वितरण गर्नको लागि गाउँपालिकामा हस्तान्तरण गरिए थियो।

सहयोगकै क्रममा श्री कुमारी आवासीय मा.वि. खानीखोला–४को आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग स्वरुप २२ बोरा चामल, नुन ३० किलो, ३ कार्टुन चाउचाउ २० वटा झुल, म्याट्रिक्स २ रोल, कापी २० दर्जन, चप्पल २० जोर सरसफाइ सामान २० सेट, ब्ल्याङकेट २० वटा, झोला २० पिस, चना ५०किलो, चिनी २० किलो, दाल २५ किलो, मसला ७ किलो, विद्यार्थीलाई पोसाक २३ सेट लगायतका सामाग्री विद्यालयलाई उपलब्ध गरेको छ। भावी दिनमा उपरोक्त आवासीय विद्यालयलाई सहज ढंगले सञ्चालन गर्नको लागि निरन्तर रूपमा आवश्यक सहयोग गर्न संस्था र विद्यालय बीचमा सम्झौता पनि भएको छ। उक्त सम्झौता पत्रमा कान्छीमाया तामाङ फाउन्डेसनको अध्यक्ष डा. दिल बहादुर तामाङ र विद्यालयको तर्फबाट आवासीय विद्यालयको अध्यक्ष एवं वडा अध्यक्ष निसान मोक्तानले हस्ताक्षर गरेका थिए।

गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ्(छिन्ताङ)ले खानीखोला गाउँको बाढी पहिरो पीडितहरुलाई सहयोग गर्ने मनकारी सबैलाई धन्यवाद दिएका थिए । आवासीय विद्यालयलाई सहयोग लागि संस्था र संस्थाको अध्यक्ष डा. दिल बहादुर तामाङ र संस्थाको प्रतिनिधि लोक बहादुर तामाङलाई विशेष धन्यवाद पनि दिए।
संस्थाका डा. तामाङले दुर्गम भेकका पीडितहरुलाई सहयोग गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको बताउँदै आगामी दिनमा खानीखोलाको बढी पहिरो पीडितहरुलाई पुनःस्थापन र पुनर्निर्माण कार्य एवं स्वास्थ्य र शिक्षा क्षेत्रको कार्यमा पनि सहयोग गर्ने बताएका थिए।
प्रतिक्रिया