काठमाडौं– नेपालमा धनुषा र सिराहाको सिमानामा अवस्थित कमला नदीको किनारमामा हरेक वर्ष कात्तिक पूर्णिमाका दिन मेलाको रुपमा भयमिश्रित रोमाञ्चित दृश्य देखिन्छ । यो अनौठो दृश्य मिथिलाञ्चलको परम्परागत सांस्कृतिक र तान्त्रिक विधालाई उजागर गर्ने ‘भुतमेला’ को हो ।
‘पापकी क्षय, धर्मकी जय !’ जस्ता मन्त्र जप्दै धामी झाँक्रीहरू मादल, ढोल, पिपही, र झ्यालीको तालमा कमला नदीको तटमा तान्त्रिक स्नान गर्न भेला हुन्छन्।
यस पवित्र अवसरमा धनुषा, सिराहा, सप्तरी, महोत्तरी, उदयपुरदेखि भारतको सीमावर्ती क्षेत्र जयनगर, मधुवनी, दरभङ्गा, र समस्तीपुरसम्मका श्रद्धालुहरू नदीको शुद्ध जलमा स्नान गर्न आउँछन्। जनविश्वास अनुसार, कमला नदीमा स्नान गर्दा तान्त्रिक विद्या सिद्ध हुने र कमलेश्वरी देवीले वरदान दिने भनाइले यो मेलामा दिनप्रतिदिन भीड बढ्दै गएको छ।
मूल धामीहरूले मन्त्र सिद्ध गरेर नयाँ सिकारु धामी झाँक्रीहरूलाई दीक्षा दिने अनुष्ठान भुतमेलाको मुख्य आकर्षण हो। पहेँलो धोती र सारीमा सजिएका यी धामी झाँक्रीहरूले हातमा माटोको बलेको ढकना र बेतको लाठी घुमाउँदै “देवता सिद्ध” गर्ने प्रयास गर्दछन्। उनीहरूको चर्को स्वर, बाजाको ताल, र देउता “खेल्ने” अनौठो अभ्यासले माहोललाई भयमिश्रित रोमान्चक बनाउँछ।
लोक भाकामा गीत गाउने ‘महराइ’ परम्परा मूल धामीहरूले निभाउँछन्। मन्त्र र तान्त्रिक अभ्यास सिकाउने धामीलाई तराईमा ‘भगता’ भनिन्छ। श्रद्धालुहरू यी मूल धामीहरूबाट आशीर्वाद थाप्न पंक्तिबद्ध हुन्छन्, र कमला नदीको जल र गङ्गा सागरको पानी घर लैजान्छन्।
कमला नदीको भुतमेला केवल एक धार्मिक पर्व मात्र होइन, मिथिलाञ्चलको गहिरो सांस्कृतिक जरा भएको ऐतिहासिक घटना भएको बताउँदै एक स्थानीयले भने ‘यो मेलाले परम्परागत तन्त्रविद्या र ग्रामीण जनजीवनको धार्मिक विश्वासलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।’
आधुनिक युगसँगै यस्ता परम्पराका संरक्षण र अध्ययनका लागि थप चासो र प्रयास आवश्यक छ। कमला नदीको भुतमेला तान्त्रिक परम्परा र सांस्कृतिक सम्पदाको अनुपम नमूना हो।
प्रतिक्रिया