काठमाडौं- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई व्यवस्थित र विश्वासिलो बनाउनुपर्ने बताएका छन् । आज हेटौँडामा आयोजित प्रदेश लोक सेवा आयोगको पाँचौँ स्थापना दिवस समारोहमा उनले नागरिकको भरोसालाई ध्यानमा राखेर परीक्षा सञ्चालन, विज्ञापन प्रकाशन, सरुवा–बढुवाको विषयमा संवेदनशील भएर कार्य गर्नुपर्ने बताए ।
प्रदेश प्रमुख देवकोटाले स्वच्छता, निष्पक्षता, वस्तुगत गुणलाई शिरोधार्य गरेर जनताको भरोसालाई कायम राख्दै छितोछरितो र विश्वसनीय रूपमा कार्यसम्पादन गर्न आग्रहसमेत गरे । “प्रदेश लोक सेवा आयोगमा विभिन्न जटिलताले समस्या उत्पन्न भएका छन्, त्यसलाई व्यवस्थित गर्न सबै पक्षलाई आग्रह छ,” उनले भने,“हरेक समस्याको समाधान हुन्छ, प्रदेश प्रमुखका हैसियतले ती समस्याको समाधानमा म सधैँ तत्पर छु ।”
समारोहमा मुख्यमन्त्री बहादुरसिं लामाले आयोगलाई विश्वासिलो बनाउन सरकार कटिबद्ध रहेको बताए । उनले आयोगलाई छिट्टै सरकारी भवनमा सार्ने व्यवस्था गरिनाका साथै आयोगलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने र आयोगमा भएका चुनौतीलाई समाधान गर्न सबै क्षेत्रको साथ सहयोग रहनुपर्ने बताए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले परीक्षालाई विश्वासिलो बनाउनुका साथै ऐनमा नै सरुवा र बढुवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।
आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख अप्सरा चापागाईं, प्रदेश प्रमुख सचिव डा हरिप्रसाद लम्साल, कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोगका सदस्य शर्मिला न्याैपानेले आव २०८०-८१ को वार्षिक प्रतिवेदनका प्रमुख विषयवस्तुबारे जानकारी दिएकी थिइन्को ।
प्रतिक्रिया