भारतसँग  व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

बुधबार, ०५ मंसिर २०८१, १० : १८

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँग भेटवार्ता गरेको छ । मंगलबार भएको भेटवार्तामा चेम्बरले नेपाल भारत व्यापार सहजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको हो ।

चेम्बरका अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगिकार गरेपनि व्यवहारिक लाभ प्राप्त गर्न नसकेको बताए । भारतबाट हुने आयातमा खासै समस्या नरहेपनि निर्यातका क्रममा भान्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाई छ ।

पर्यटन आकर्षण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न समेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ । चेम्बरका अध्यक्ष अग्रवालले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए ।

व्यापार सहजीकरण का लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तराष्ट्रियस्तरको क्वारेन्नि ल्याव राख्नका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता–निर्यात हुने वस्तुहरूको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष अग्रवालले राजदूत शर्माको ध्यानाकर्षण गराए ।

राजदूत शर्मासँग अध्यक्ष अग्रवालले भने, ‘भारतमा दीर्घकालीन व्यापारिक लाभ प्राप्त गर्ने गरी निर्यात सहजीकरण गरिनुपर्दछ । रेलवे तथा वाटरवेको प्रभावकारी सञ्चालनका लागि पहल कदमी गरिनुपर्दछ ।’

जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । नेपाल भारत निजी क्षेत्र बिच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने राजदूत शर्माको भनाई छ ।

यस सम्झौताले आम ग्राहकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बुधबार, ०५ मंसिर २०८१, १० : १८

प्रतिक्रिया