काठमाडौं- रुपन्देहीमा उद्योग सञ्चालन गरिरहेको अर्घाखाँची सिमेन्ट कम्पनीले पाल्पामा वन अतिक्रमण गरेर अवैधरुपले चुनढुंगा उत्खनन कार्य गर्दै आइरहेको छ ।
अर्घाखाँची सिमेन्टका सञ्चालक सहित उक्त कम्पनीमा चुनढुंगा आपूर्ति गर्ने ठेक्का लिएको सिद्धार्थ मिनिरल्स विरुद्ध वन क्षेत्र अतिक्रमण गरी अवैध उत्खनन गरेको भन्दै जिल्ला अदालत पाल्पामा मुद्दा समेत परेको छ ।
अध्यक्ष पशुपति मुरारकासहितका सञ्चालकहरु र चुनढुंगाा सप्लाई गर्ने सिद्धार्थ मिनिरल्सविरुद्ध डिभिजन वन कार्यालय पाल्पाले मुद्धा दायर गरे पनि त्यसको अवज्ञा गर्दै कम्पनीले उत्खनन कार्य जारी राखेको छ । अर्घाखाँची सिमेन्टका सञ्चालक सहित चुनढुंगा उत्खनन गर्ने सिद्धार्थ मिनिरल्सलाई प्रतिवादी बनाई कात्तिक २३ गते दायर गरिएको मुद्दामा मंगलबार बयान समेत लिइसकिएको छ ।
अर्घाखाँची सिमेन्टको चुनढुंगा आपूर्तिकता सिद्धार्थ मिनिरल्सले पाल्पाको तिनाउ गाउँपालिका- ३ को श्रीडाँडा क्षेत्रमा अनुमति लिएको भन्दा बढी क्षेत्र अतिक्रमण गरी चुनढुंगा उत्खनन गर्दै आइरहेको हो । स्थानीय सरकार र स्थानीयवासीको तीव्र विरोध भइरहँदा पनि कम्पनीले अतिक्रमित वन क्षेत्रमा चुनढुंगा उत्खनन कार्य जारी राखेको त्यहाँका स्थानीयहरु बताउँछन् ।
पाँच हेक्टर क्षेत्रफलमा चुनढुंगा उत्खनन गर्ने अनुमति लिएर कम्पनीले त्यहाँको सात हेक्टर क्षेत्रफलमा खानी सञ्चालन गरिरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
यसबारेमा अर्घाखाँची सिमेन्ट कम्पनीका बजार प्रमुख संकेत दाहालसँग प्रश्न गर्दा उनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले उद्योगमै सम्पर्क गर्नुपर्ने जनाउँदै कुनै प्रतिक्रिया दिएनन् ।
यो पनि पढ्नुस्
अर्घाखाँची सिमेन्टद्वारा अवैधरुपमा चुनढुंगा उत्खनन, अदालतमा मुद्दा
प्रतिक्रिया