धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन

हजार कित्ताभन्दा कम सेयर भर्न नपाइने, अरु के छ नयाँ व्यवस्था ? (पूर्णपाठ)

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ५५

काठमाडौँ-  संयुक्त लगानीको कम्पनीमा हजार कित्ताभन्दा कम सेयर भर्न नपाइने भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गर्दै धितोपत्र बोर्डले सो व्यवस्था गरेको हो । 

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी  यो निर्देशिका बनाएको हो ।

उक्त निर्देशिकाको नाम “धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका, २०८१” रहेको छ । यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा २०७४ मा परिच्छेद–२क। थप सम्बन्धमा धितोपत्र बाँडफाँड तथा निष्काशन निर्देशिका, २०७४ को दफा ११ पछि देहायको परिच्छेद–२क. थपिएको छः। उक्त परिच्छेदमा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्कासन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था रहेको छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशन गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी शेयर निष्कासन गर्न सक्ने निर्देशिकामा व्यवस्था  गरिएको छ । 

सेयर निष्काशन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले नियमावलीको नियम ९ को उपनियम (१) बमोजिम जारी पूँजीको १० प्रतिशत भन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी नियमावलीको नियम ४१ख. बमोजिम गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्काशन गर्नु पर्नेछ । 

निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासनको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरणपत्रमा उल्लेख भए बमोजिम हुने उल्लेख गरेको छ । यस्तै, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति सेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नुपर्ने उल्लेख छ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँड भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, संस्थापक सेयरको हकमा नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने उल्लेख छ ।

आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले गैरआवासीय नेपालीका लागि विद्युतीय माध्यमबाट सेयर आवेदन दिने व्यवस्था गर्न सक्नेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरको कारोबार गैरआवासीय नेपालीबीच मात्र हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्काशन गरेको सेयर बाडँफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन ।


 

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ५५

प्रतिक्रिया