काठमाडौं - आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिक (साउनदेखि कार्तिक महिना) सम्ममा एक अर्ब ५० करोड ९६ लाख ४१ हजार राजश्व संकलन गरेको छ ।
कार्यालयले राखेको तथ्यांक अनुसार गत आर्थिक वर्ष भन्दा वढी राजश्व संकलन गर्न सफल भएको छ । तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलब्धि हो । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब ९५ करोड ८६ लाख ५५ हजार राजश्व उठाउने लक्ष्य रहेका थियो ।
कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८१\८२ मा गत आर्थिक वर्ष २०८०\८१ मा असुलीको आधारमा यसवर्ष २५ प्रतिशत थप गरी वर्षभरिमा ६ अर्ब ९ करोड १९ लाख ८३ हजार राजश्व उठ्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षभरिमा कार्यालयले ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार उठाउन सफल भएको थियो । उक्त आर्थिक वर्षमा ५ अर्ब ७६ करोड २९ लाख ४१ हजार राजश्व उठाउने लक्ष्य रहेको थियो ।
कार्यालयका अनुसार कार्यालयमा करदाताको जम्मा सङ्ख्या व्यवसायतर्फ ४३ हजार चार सय ३३ रहेकोमा व्यक्तिगततर्फ एक लाख पाँच हजार ६ सय ६५ रहेको छ । यस आ.व. साउनदेखि कार्तिक मसान्तसम्ममा व्यवसायतर्फ नौ सय १६ र व्यक्तिगततर्फ चार हजार पाँच सय ८१ करदाताहरू दर्ता भएका छन् ।
प्रतिक्रिया