नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव

मंगलबार, ११ मंसिर २०८१, १५ : ३५

काठमाडौं - नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । 

२०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

“नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौँ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले भने, “तीन वर्षको दौरानमा देशमा सयौँ मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा हामी विश्वस्त छौँ ।” 

स्थापनाकालदेखि हालसम्म, नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट ९सोमटियू० सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ । 

सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ ।

नबिल एसएसई अन्तर्गत हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन् । तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ ।

यस कोर्सका सहभागीहरूमध्ये ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् । 

 

मंगलबार, ११ मंसिर २०८१, १५ : ३५

प्रतिक्रिया