निर्जीवन बीमा कम्पनीद्वारा २ अर्ब ७८ करोड बीमाशुल्क संकलन

शुक्रबार, १४ मंसिर २०८१, १५ : १७

काठमाडौं - नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक महिनाभरमा ६ लाख ६० हजार ६६५ वटा बीमालेख मार्फत  ७ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँको निर्जीवन बीमा गरिएको छ । 

यसबाट २ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरिएको बीमा प्राधिकरणको तथ्याङ्क छ । अहिले १४ वटा निर्जीवन बीमा र चारवटा निर्जीवन लघुबीमा कम्पनी समेत गरी कुल १८ वटा लघुबीमा संस्थाहरू क्रियाशील छन् । ती संस्थाले चार महिनाको अवधिमा भने १४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेर ९ लाख ९८ हजारवटा सम्पत्तिको बीमा गरिएको विवरणमा उल्लेख छ । 

चार महिनाको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७७ करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड तथा आईजीआई प्रुडेन्सियल इन्स्योन्सले १ अर्ब १३ करोडको बीमाशुल्क सङ्कलन गरेका छन् । बाँकी कम्पनीहरूको १ अर्बभन्दा कम कारोबार छ  ।

यो अवधिमा मोटर बिमातर्फ ४ अर्ब ५९ करोड, सम्पत्ति बिमातर्फ ३ अर्ब ८४ करोड, इन्जिनियरिङ बिमातर्फ १ अर्ब ८३ करोड र विविध बीमा अन्तर्गत १ अर्ब ६५ करोड रुपैयाँ सङ्कलन भएको छ । अरू बीमालेखबाट संकलित शुल्क १ अर्बभन्दा कम छ । 

शुक्रबार, १४ मंसिर २०८१, १५ : १७

प्रतिक्रिया