राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ :अर्थमन्त्री

आइतबार, १६ मंसिर २०८१, १३ : ०८

काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिवार उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरूलाई रूपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्ने गरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे। सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैंक बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए ।

सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफूहरू सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गरे । यसै गरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए ।

उनले वित्तीय साक्षरता, सामाजिक सामुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग बाणिज्य बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्पर्धी बजारको माग अनुसार  बैंकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैंकले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताए ।

साझा प्रतिविद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैंकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैंकउत्कृष्ट बन्ने विश्वास व्यक्त गरे ।

उनले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बाबजुद बैंकले आफ्ना सूचकहरूलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराए ।

आइतबार, १६ मंसिर २०८१, १३ : ०८

प्रतिक्रिया