४ बैंकद्वारा संखुवाखोला जलविद्युत परियोजनामा ऋण लगानी

मंगलबार, २५ मंसिर २०८१, १२ : ४०

काठमाडौं - ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनामा ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । 

मंसिर २४ गते सोमबार दिन प्रवर्द्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजनामा सिटिजन्स बैंकको अगुवाईमा एभरेष्ट , नेपाल एसबीआइ र सानिमा बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ । परियोजनाको अनुमानित लागत करीब ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । 

यसमध्ये सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआइ बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड लगानी गर्नेछन् भने २५५ स्वपुँजी प्रवद्धकहरुबाट जुटाइने छ ।

परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेसनमा जोडिने छ । 

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

 

मंगलबार, २५ मंसिर २०८१, १२ : ४०

प्रतिक्रिया