काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ जना सांसदहरुले ले ९६ संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
गत असोज ६ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकमाथी भदौ ११ मा सामान्य छलफल गरी प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाएको थियो ।
भदौ १८ मा अर्थ समितिमा पेश भएको विधेयकमाथी १३ जना सांसदले एकल र बाँकी १५ जना सांसदले संयुक्त रुपमा गरेर १९ वटा संशोधन प्रस्तावमार्फत ९६ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । जसमा एउटा संशोधन प्रस्ताव भने फिर्ता भइसकेको छ ।
विधेयकमा ऐनको उद्देश्य र कारण, सैद्धान्तिक अवधारण र प्रस्तावनामा समेत गरी तीन संशोधन प्रस्ताव भएको छ । जसमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सरकारको ५१ प्रतिशत र नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व भएको कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनेगरी ऐन संशोधन गर्ने प्रस्ताव परेको छ ।
धितोपत्र सम्बन्धी संशोधन विधेयकको दफा १ मा संक्षिप्त नाम र प्रारम्भ रहेको छ । त्यसमा ऐन संशोधन भइ कार्यान्वयनमा आएको १२ महिनाभित्र शेयर बजारका कारोबारीलाई प्रमाणीकरण र लाइसेन्सिङ व्यवस्था प्रस्ताव गरिएको छ । शेयर कारोबार गर्ने रकमको स्रोत सुनिश्चित हुनुपर्ने पनि प्राप्त संशोधनमा उल्लेख छ ।
दफा २ मा परिभाषामा थप गर्नुपर्ने जनाउँदै सात सांसदले तीनवटा संशोधन प्रस्ताव हालेका छन् । जसमा शेयर कर्नरिङ, पम्प एण्ड डम्प, सर्कूलर ट्रेडिङजस्ता मामिलामा परिभाषा गर्नुपर्ने प्रस्ताव छ ।
प्रतिक्रिया