काठमाडौं - चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा कुल १ खर्ब २७ अर्ब रुपैयाँबढी खुद नाफा कमाएका छन् ।
५ महिनाको अवधिमा ९३ दिन खुलेको बजारमा औसतमा दैनिक १० अर्ब ७८ करोडको कारोबार भएको देखिन्छ । ५ महिनाको अवधिमा कुल १० खर्ब ३ अर्ब १३ करोड बराबरको सेयर किनबेच भएको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार यसअघि नेप्से बढेर करिब ३ हजारको लेबलसम्म पुगेको थियो ।
त्यतिबेला कम्पनीहरुको सेयर भाउ पनि मज्जाले बढेको थियो । सोही कारण यस अवधिमा समग्रमा लगानीकर्ताले नाफा बुक गर्न सकेका हुन् । करिब १८ सयको लेबलमा आएको नेप्से बढेर ३ हजार आसपाससम्म पुगेको हो ।
आर्थिक वर्ष ०८१\८२ को पहिलो ५ महिनामा सेयर लगानीकर्ताले ९ अर्ब २४ करोड ७ लाख २६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । सेयर लगानीकर्ताले यस अवधिमा तिरेको पुँजीगत लाभकरका आधारमा हिसाब गर्दा उनीहरुले १ खर्ब २७ अर्ब १५ करोड ४१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । यो नाफा पुँजीगत लाभकर तिरेपछिको हो ।
लगानीकर्ताले ४७ अर्ब ४४ करोड रुपैयाँ नाफा गर्दा २ अर्ब ४९ करोड रुपैयाँ कर तिरेका छन् भने अल्पकालीन लगानीकर्ताले ७० अर्ब ३५ करोड रुपैयाँ नाफा कमाउँदै ५ अर्ब ७० करोड रुपैयाँ कर बुझाएका छन् । संस्थागत लगानीकर्ताले ९ अर्ब २४ करोड रुपैयाँ नाफा गर्दा १ अर्ब २६ करोड रुपैयाँ लाभकर तिरेका छन् । स्टक डिलर कम्पनीहरूले १० करोड ७३ लाख रुपैयाँ नाफा गर्दा १ करोड १९ लाख रुपैयाँ कर बुझाएका छन् ।
त्यस्तै , स्टक डिलर कम्पनी बाहेकका संस्थागत लगानीकर्ताहरुले ५ महिनाको अवधिमा ९ अर्ब २४ करोड १९ लाख रुपैयाँ कमाएका छन् । संस्थागत लगानीकर्ताले १ अर्ब २६ करोड ८७ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यही अवधिमा स्टक डिलर कम्पनीहरुले १० करोड ७३ लाख नाफा कमाउँदा १ करोड १९ लाख लाभकर तिरेको देखिन्छ ।
१ वर्ष भन्दा बढी समयमा सेयर बिक्री गर्ने व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत र १ वर्षभन्दा कम अवधिमा बिक्री गर्नेले नाफाको ७।५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । यस्तै, संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ ।
सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताले सेयर कारोबारमा लाभ प्राप्त गरेबापत सरकारलाई तिर्नुपर्ने रकम पुँजीगत लाभकर हो । सेयर बिक्री गरेपछि नाफा भएको अवस्थामा मात्र यस्तो कर लाग्छ । यसलाई पुँजीगत लाभकर भनिन्छ । यस्तै, धितोपत्र ब्रोकरले सेयर किनबेचमा पाउने शुल्कबापत १५ प्रतिशत टीडीएस तिर्नुपर्छ ।
साउनदेखि मंसिरसम्मको अवधिमा सरकारले सेयर कारोबारबाट प्राप्त पुँजीगत लाभकरबापत मात्रै ९ अर्ब २४ करोड ७ लाख २६ लाख रुपैयाँ राजश्व उठाएको देखिन्छ । सरकारले यस अवधिमा पुँजीगत लाभकरमार्फत उल्लेखनीय राजस्व संकलन गरेको छ। साउन महिनामा मात्र ४ अर्ब २७ करोड रुपैयाँ लाभकर उठाइएको थियो । भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड, कात्तिकमा ७५ करोड र मंसिरमा १ अर्ब ४ करोड रुपैयाँ लाभकर संकलन भएको छ
प्रतिक्रिया