सेयर बजार

सेबोनको नयाँ व्यवस्थापछि सेयर बजारमा निराशा, नेप्से २० अंकले घट्यो

सोमबार, १९ असोज २०८३, १५ : ३१

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले आफ्नो ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरे कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था गरेपछि सेयर बजारमा त्यसको नकारात्मक प्रभाव देखिएको छ। आम लगानीकर्तामा निराशा बढेसँगै बजारमा लगातार गिरावट आएको हो।

गत साता पनि घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेर बन्द भएको छ। सोमबार सेयर बजार परिसूचक नेप्से २०.४८ अंकले घटेर २ हजार ५६६.७६ विन्दुमा झरेको छ।

आज २४२ कम्पनीको सेयर मूल्य घट्दा ३२ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अंकले घटेर ४५९.७९ विन्दुमा पुगेको छ।

कारोबार भएका १३ उपसूचकमध्ये १२ वटा घटेका छन् भने एउटा उपसूचक मात्रै बढेको छ। बजार घटेसँगै कारोबार रकम पनि ३ अर्बमा सीमित भएको छ।

सोमबार ३५९ कम्पनीका ९० लाख ३ हजार ३८८ कित्ता सेयर ४४ हजार ७७७ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँको कारोबार भएको छ।

सोमबार, १९ असोज २०८३, १५ : ३१

प्रतिक्रिया