काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन प्रसंगमा प्रधानमन्त्री बालेन्द्रले मध्यरातमा एउटा फेसबुक स्टाटस लेखे, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ उनले मध्यरातमा मात्र किन लेख्छन् भन्ने विषय त सबै नेपालीले जानी सकेको कुरा हो । त्यसमा नजाऊँ , । तर उनले यसो किन लेखे ? एउटा जिम्मेवार प्रधानमन्त्रीले त प्रमुख प्रतिक्षी दलको महाधिवेशनमा शुभकामना सन्देश दिनुपर्दथ्यो । सामान्य राजनीतिक संस्कार त देखाउनुपर्दथ्यो नि ।
उनले भनेजस्तै जवाफ खोज्ने हो भने त अनेक छन् । भदौ २४ मा सबै संरचना जलाएको स्विकारोक्तिको रुपमा पनि यसलाई लिन सकिन्छ । उनले खुलामञ्च भने बचाए । बाँकी सबै जलाए । यदि कसैले सिंहदरवार नबनाएको भए उनले त्यहाँ बसेर सरकार चलाउन कहाँ पाउँथे ? धन्न जेनजिहरुले ज्यानको बाजी लगाएर उत्पात मच्चाएकोले उनी जस्तै राजनीतिक सस्कार नभएकाहरु सत्ताको कुर्सीमा बस्न पाएका छन् र मध्यरातमा स्टाटस लेख्न पाएका छन् । धन्न पृथ्वीनारायण शाहले यो देश बनाइदिएका थिए र आज कोही प्रधानमन्त्री बन्न पाएको छ ।
देशले कस्तो प्रधानमन्त्री पाएछ, जो सबैको साझा प्रधानमन्त्री बन्न सकेन । बालेन लगायत उनको समूहले यो बुझ्नु पर्दछ कि देश एकैपटक र एकजनाले मात्र बनाएर बन्ने होइन । कसैले यसको सीमारेखा कोर्यो । कसैले यसको भौतिक संरचना बनायो । कसैले राजनीतिक र नागकिरक अधिकारकालागि कुर्बानी गर्यो । आज देखिने देशको भौतिक विकास र समृद्धी एकैपटक कसैले एक्लै बनाएको होइन । हरेकले आफ्नो समयमा एउटा एउटा इट्टा थपेको छ । देश निर्माणको लामो इतिहास छ । एकपटक गम्भीर भएर अध्ययन गर । अनि थाहा पाउने छौ, यो देश कसरी बनेको रहेछ । यस्तो छुद्र टिप्पणी गर्ने प्रधानमन्त्री यो मुलुकले बिरलै पाएको थियो होला ।
पहिलेकाले केही गरेका थिएनन् भन्ने बालेन र उनको समूहले धेरै पहिलेको होइन भर्खरै रसुवा बाढीको सन्दर्भ संझे पुग्छ । बाढीले करिब सात अर्बको भौतिक संरचना र सम्पत्तिमा क्षति पुगेको सरकारी रिपार्ट नै आएको छ । केही बनेको रहेनछ त ? यो त देशको एउटा सिमित ठाउँको कुरा मात्र हो । धन्न पहिलेका सरकारहरुले मुक्तिनाथ जाने बाटो बनाइदिएकोले बालेन आफै गाडी हाँकेर जान सके ।
जेनजी आन्दोलनपूर्व पनि उनले विवादास्पद स्टाटस लेखेका थिए । जसमा उनले रास्वपादेखि नेपालका सबै राजनीतिक दल र अमेरिका, चीन र भारतसमेतलाई अश्लिल शब्द प्रयोग गरेका थिए । महानगरको मेयर भएकोबेला आएको उनको यो स्टाटस चौतर्फी आलोचना भएपछि हटाएका थिए । प्रधानमन्त्री भैसकेपछि पनि उनले रातमा स्टाटस लेख्ने आदतलाई फेर्न सकेका छैनन् । अर्को कुरा उनले सरकारका आधिकारिक धारणा आफ्नो निजी फेसबुक पेजबाट पोष्ट गर्दै आएका छन् । यो पदको दुरुपयोग हो भन्ने आरोप लाग्दै आएको छ । प्रधानमन्त्रीको अफिसियल पेजमा नराखेर निजीमा राख्ने गरेका छन् । यसबाट उनलाई व्यक्तिगत रुपमा लाभ हुने भए पनि प्रधानमन्त्री पदको गरीमा भने कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ ।
प्रतिक्रिया