नेपाल धितोपत्र बोर्ड

आईपीओ निष्कासनको पाइपलाइनमा ८२ वटा कम्पनी

आइतबार, २१ पुस २०८१, १३ : ०७

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)मा साधारण शेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा ८२ वटा कम्पनी छन् । 

नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको रुपमा सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेको एक महिना बितिसेकेको छ । पदभार सम्हालेको एक महिना बित्दा पनि कुनै कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएका छैनन् । 

अध्यक्ष नियुक्तिपछि पाइपलाइनमा रहेका आईपीओ निष्कासन धमाधम हुने चर्चा थियो ।  अध्यक्ष श्रेष्ठ नियुक्ति हुनुअघि नै गार्डिन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएको थियो । त्यसयता कुनै कम्पनीले स्वीकृति पाएका छैनन् ।

उनी अध्यक्ष भइसकेपछि हकप्रद तथा एफपीओ निष्कासन कार्य भएका छन् । अहिले बोर्डमा आईपीओ निष्कासनको पाइपलाइनमा ८२ कम्पनी छन् । यी कम्पनीले कुल ४९ अर्ब ८१ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेका हुन् ।

पाइपलाइनमा रहेकामध्ये अधिकांश हाइड्रोपावर सेक्टरका कमपनी छन् । कुल ४१ वटा हाइड्रोपावर कम्पनीले १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति माग गरेका छन् ।

त्यस्तै, होटल तथा पर्यटन सेक्टरका ७ कम्पनीले ३ अर्ब ३१ करोड रुपैयाँको आईपीओ ल्याउन अनुमति मागेका छन् । लगानी समूहका तीन कम्पनीले २ अर्ब ८४ करोडको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।

उत्पादन तथा प्रशोधन समूहका १५ कम्पनीले २२ अर्ब ६८ करोड तथा अन्य सेक्टरका १० कम्पनीले ३ अर्ब ३२ करोडको आईपीओ निष्कासनका लागि अनुमति मागिएको छ । एक माइक्रोफाइनान्स र पाँच माइक्रोइन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।

आइतबार, २१ पुस २०८१, १३ : ०७

प्रतिक्रिया