पेप्सी उत्पादक कम्पनी बरुण बेभरेजको ठगी धन्दाः नक्कली फर्म खडा गरी राजस्व छली

मंगलबार, २३ पुस २०८१, १२ : १५

काठमाडौं- नेपालका लागि पेप्सी लगायत पेय पदार्थ उत्पादक कम्पनी बरण बेभरेज(नेपाल) प्रालिले नक्कली बिजक जारी गर्न विभिन्न फार्म खडा गरी राजस्व छली गर्ने गरेको पाइएको छ ।

यस कम्पनीले हल्का पेय पदार्थ पेप्सी, माउन्टेन, ड्यु, सेभेन अप, मिरिण्डा र स्लाइस उत्पादन गर्दै आइरहेको छ । उक्त कम्पनीले  नेपाल सरकारलाई मूल अभिवृद्धि कर(भ्याट), आयकर छली गर्न आफैं फर्म खडा गर्दै आर्थिक कारोबार नै नगरी नक्कली बिजक लिएको पाइएको हो ।  

बरुण बेभरेजले विभिन्न फर्महरु खडागरी सामान किनबेच नै नगरी बिलहरुमात्रै दिने गरेको तथ्य फेला परेको हो । आजको अर्थले प्राप्त गरेको विवरण अनुसार करिब २८ वटा फर्महरुबाट विभिन्न मितिमा नक्कली भ्याट बिजक लिएको देखिएको छ । ती फर्महरुबाट सामान नलिई राजस्व छली गर्न नक्कली बिजक मात्रै लिएको देखिएको हो ।

यसरी करछली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा बरुण बेभरेजविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले राजस्व  अनुसन्धान विभागको माग बमोजिम कसुर ठहर गरेको थियो । त्यसपछि जिल्ला अदालतको फैसला पुनरावेदन गर्दै उच्च अदालत पुगेको यस कम्पनीले त्यहाँ पनि जिल्ला अदालतकै पुरानै फैसला सदर गरिएको थियो ।

राजस्व अनुसन्धान विभागले बरुण वेभरेज(नेपाल) सहित तत्कालीन वित्त प्रमुख अमित गुप्ता लगायत अन्यविरुद्ध दायर गरिएको मुद्दामा पाटन उच्च अदालतबाट जरिवाना ठहर गरेको थियो । जस अनुसार नक्कली बिजक बनाएर राजस्व छली गरेको भन्दै बरुण वेभरेजलाई सात करोड जरिवाना र यसकै वित्त प्रमुख गुप्तालाई एक करोड रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

मंगलबार, २३ पुस २०८१, १२ : १५

प्रतिक्रिया