लेखा समिति सभापति पोखरेललाई तनाव : श्रीमती अदालतमा उपस्थित, स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, २४ पुस २०८१, १२ : ०८

काठमाडौं- सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीको रकम अपचलनमा मुछिएकी कोइराला आज मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।

सहकारीको पूर्वसञ्चालक सदस्य समेत रहेकी उनीविरुद्ध मोरङ जिल्ला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । उमा गौरी कृषि सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

श्रीमती सहकारी ठगी प्रकरणमा परेर अदालतमा उपस्थित भई थुनछेक बहस जारी हुँदै गर्दा पोखरेलका स्वकीय सचिव रहेका अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमाले मोरङको जिल्ला कमिटी सदस्य रहेका अनिल कुमार पोखरेल लेखा समितिको सभापति भएयता पोखरेलको स्वकिय सचिवको रुपमा कार्यरत थिए । 

स्वकीय सचिव पोखरेलविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो । उनले  मोरङकै एक स्थानीयलाई एमबिबीएसमा नाम निकालिदिने भन्दै रकम लिएर ठगी गरेको विषय सार्वजनिक भएको थियो ।

मोरङका स्थानीय बौआलाल चौधरीकी छोरीको एमबिबीएसमा नाम निकालिदिने भन्दै करिब ३८ लाख रकम लिएको भन्दै अनिल पोखरेलविरुद्ध उच्च अदालतमा ठगी मुद्दा दर्ता भएको थियो । उनले नाम ननिक्लिएपछि पैसा फिर्ता नदिएर उल्टै आफूबाट पचास लाख लगेको कागज बनाएको आरोप लागेको छ । 

पोखरेलकी श्रीमती अञ्जला आबद्ध उमा गौरी कृषि सहकारीमा १८ करोड ५१ लाख कुल पुँजी रकम रहेको १२ करोड रुपैयाँ अपचलन भएको खुलेको थियो । यो सहकारीका संचालकले ऋण लिन आएका सदस्यहरूले सहकारीमा धितो राखेको सम्पत्तिलाई अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण लिने गरेको पाइएको छ।

मोरङ २ बाट निर्वाचित सांसद पोखरेलकी श्रीमती सोही सहकारीको सञ्चालक समितिको सदस्य रहेकी थिइन्। उनी संचालक समितिको सदस्यमै रहँदा सहकारीको १२ करोड रकम हिनामिना भएको बताइएको छ।

स्थानीय विद्यालयमा शिक्षिका रहेकी रञ्जला सहकारीको सञ्चालक समिति सदस्य रहेर रकम अपचलनमा संलग्न रहेको आरोप लागे पछि उनले सञ्चालक समिति सदस्य छाडेकी थिइन्।

यो पनि पढ्नुस् 

लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा, श्रीमतीपछि स्वकीय सचिवको ठगी धन्दा बाहिरियो

बुधबार, २४ पुस २०८१, १२ : ०८

प्रतिक्रिया