लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा, श्रीमतीपछि स्वकीय सचिवको ठगी धन्दा बाहिरियो

शुक्रबार, १९ पुस २०८१, १२ : १२

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समतिका सभापति ऋषिकेश पोखरेल आफ्नै श्रीमती र स्वकीय सचिवको एकपछि अर्को ठगी धन्दा बाहिरिएपछि विवादमा तानिएका छन् । 

एमालेका सांसद रहेका सभापति पोखरेल पत्नी अञ्जला कोइराला विरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भए यता उनी फरार रहेकी छिन् भने पोखरेलकै स्वकिय सचिव अनिल पोखरेल पनि ठगी धन्दामा संलग्न रहेको पाइएको छ । 

मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचनलको आरोपमा सरकारी वकिलको कार्यालयले पोखरेल पत्नी अञ्जला कोइरालासहित २६ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ।  उनको नाममा पक्राउ पुर्जी जारी गरेपनि हालसम्म पक्राउ भने गरिएको छैन ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेकी श्रीमतीको विदा थप गर्न सभापति पोखरेलले नै श्रीमती कार्यरत विद्यालयमा दबाब दिएको विषय बाहिरिएपछि उनी थप विवादमा तानिएका थिए । पोखरेल पत्नी अञ्जला कोइराला विराटनगरको महेन्द्र रात्रि माविको शिक्षिका हुन् ।

श्रीमतीको सहकारी ठगी प्रकरण सेलाउन नपाउँदै सभापति पोखरेलका स्वकीय सचिव रहेका अनिल कुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन् । एमाले मोरङको जिल्ला कमिटी सदस्य रहेका अनिल कुमार पोखरेल लेखा समितिको सभापति भएयता पोखरेलको स्वकिय सचिवको रुपमा कार्यरत थिए । सभापति पोखरेलले ठगी प्रकरणमा आफ्नै स्वकिय सचिव रहेका अनिल पोखरेल मुछिएपछि उनलाई पदमुक्त गरेको बताएका छन् । 

लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले मोरङकै एक स्थानीयलाई एमबिबीएसमा नाम निकालिदिने  भन्दै मोटो रकम लिएर ठगी गरेको विषय सार्वजनिक भएको हो । मोरङका स्थानीय बौआलाल चौधरीकी छोरीको एमबिबीएसमा नाम निकालिदिने भन्दै करिब ३८ लाख रकम लिएको भन्दै अनिल पोखरेलविरुद्ध उच्च अदालतमा ठगी मुद्दा दर्ता भएको थियो । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकिय सचिव अनिल पोखरेललाई अनुसन्धान गर्न परमादेश दिइसकेको छ ।

सुशासनका चर्का कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टीका नेतासमेत रहेका पोखरेल आफ्नै श्रीमती र स्वकीय सचिव ठगी धन्दामा संलग्न रहेको पाइएपछि उनीमाथि नैतिक प्रश्न उठेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरुले श्रीमती र स्वकिय सचिव नै ठगी धन्दामा संलग्न रहेको पाइएपछि लेखा समिति सभापति पोखरेलको राजीनामा समेत माग गर्न थालेका छन् ।

anil-0312025064324-1000x0
 

शुक्रबार, १९ पुस २०८१, १२ : १२

प्रतिक्रिया