बुटवल पावर कम्पनी ३२ औँ साधारण सभा सम्पन्न

आइतबार, २८ पुस २०८१, १८ : २६

काठमाडौं - बुटवल पावर कम्पनी लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा कार्की व्यांक्वेट, बबरमहल, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको छ  ।

उक्त सभाले सेयरधनीहरुलाई आ.व. २०८०\८१ को मुनाफाबाट चुक्त पूँजीको ५ % (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको हो । नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने छ । 

३१ औँ बार्षिक साधारण सभाको निर्णय बमोजिम १ करोड कित्ता शेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेस गरी प्रक्रियामा रहेको छ । यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरू नियमित रूपमा संचालन भइरहेका छन् । 

साथै सहायक तथा सम्बद्ध कम्पनीहरू मार्फत सञ्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रूपमा हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत् प्राधिकरणमा जाने भए पनि हाल सम्म विद्युत् खरिद बिक्री सम्झौतामा सहमति नभएका कारण अन्तरिम प्रबन्ध अन्तर्गत उक्त केन्द्रबाट ने.वि.प्रा.लाई विद्युत् आपूर्ति भइरहेको छ । 

लमजुङ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुनु पर्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । यद्यपि नेपाल विद्युत् प्राधिकरणले वर्षा याममा सबै विद्युत् नलिएका कारण सो आयोजनालाई मर्का पर्न गएको छ । 

आ.व. २०८२ को श्रावण देखी यस आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पे (Take or Pay) मा परिणत हुने गरी ने.वि.प्रा.संग सहमति भएको छ । ३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रूपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य तीव्र गतिमा सुचारु भएको छ । तीन चिनियाँ लगानी कर्ताहरू संगको संयुक्त लगानीमा मर्स्याङ्दी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) वित्तीय व्यवस्थापन भई अगाडि बढाउने क्रममा छन् ।

१३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भई सकेको छ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको अन्तिम चरणमा रहेको छ । १६० मे.वा. को मुगु कर्णाली जलविद्युत आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजनाहरू पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन् ।

 
आइतबार, २८ पुस २०८१, १८ : २६

प्रतिक्रिया