मेरो माइक्रोफाइनान्स लघुवित्तको वार्षिक साधारणसभा आज

शुक्रबार, ०४ माघ २०८१, १० : १६

काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज (माघ ४) सिद्धार्थ होटल वाटर टावर, विदुर–४, वट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे ११ बजेदेखि बस्दैछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद (कर समेत) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि हुने पूँजी संरचना परिमार्जन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।

त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १९ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

शुक्रबार, ०४ माघ २०८१, १० : १६

प्रतिक्रिया