काठमाडाैं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न इच्छुक शेयरधनीका लागि आज माघ ९ गते अन्तिम दिन हो। कम्पनीले लाभांश वितरण र २५औँ वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, आजसम्म कायम रहने शेयरधनीहरूले मात्र लाभांश पाउन र साधारणसभामा भाग लिन सक्नेछन्।
कम्पनीले आफ्नो २५औँ वार्षिक साधारणसभा आउँदो माघ २८ गते पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजे आयोजना गर्ने तय गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। यसमा १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश समावेश छन्। बोनस शेयर वितरणपछि दशमलबपछिका अंशलाई समायोजन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
कम्पनीले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकाले नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, नियामक निकायबाट कुनै निर्देशन भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश छ।
सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ। यसैगरी, चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।
सभाले सर्वसाधारण समूहका शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने महत्त्वपूर्ण प्रस्ताव पनि अघि सारेको छ।
शेयरधनीहरूका लागि यो साधारणसभा कम्पनीको आगामी रणनीतिक योजना र भविष्यको प्रगतिको दृष्टिकोण बुझ्ने अवसर समेत हुनेछ। लाभांश सुरक्षित गर्नका लागि इच्छुक शेयरधनीहरूले आजभित्र आफ्नो शेयरस्थिति सुनिश्चित गर्नुपर्छ।
प्रतिक्रिया