आज यी स्थानमा विद्युत अवरुद्ध हुने

बुधबार, ०९ माघ २०८१, ०९ : ५८

काठमाडौं- काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज (माघ ९ गते)देखि दैनिक पाँच घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार विद्युतीय वितरणलाइन भूमिगत गर्न विद्युत् कटौतीको निर्णय गरिएको हो।

विद्युत् कटौती बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ। प्राधिकरणका अनुसार यो कार्य माघ १८ गतेसम्म जारी रहनेछ। आज कलंकी फिडर (कुलेश्वर) अन्तर्गत मालपोत कार्यालय वरपरका क्षेत्रमा विद्युत् आपूर्ति रोकिँदैछ।

विद्युतीय लाइन भूमिगत गर्ने योजना अन्तर्गत कुलेश्वर, बानेश्वर, जोरपाटी, र कीर्तिपुर वितरण केन्द्रका विभिन्न क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ। यस अवधिमा उपभोक्ताहरुलाई वैकल्पिक उपायको व्यवस्था गर्न आग्रह गरिएको छ।

विद्युत् भूमिगत गर्ने यो कार्यले भविष्यमा विद्युत् सेवा थप प्रभावकारी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ। तर, हाललाई उपत्यकावासीले दैनिक जीवनमा पर्न सक्ने असुविधाका लागि तयारी गर्नुपर्नेछ।

 

बुधबार, ०९ माघ २०८१, ०९ : ५८

प्रतिक्रिया