पाँचपटक लोकसेवा फेल भए बाँझो बारी नै खन्न जानुपर्ने हो त ?

बुधबार, ०९ माघ २०८१, १४ : ०५

नेपालको संवैधानिक निकायहरू धेरै छन्,  त्यस अन्तर्गत एउटा निकाय लोकसेवा आयोगको उपल्लो तहमा रहनुभएको व्यक्तिको अभिव्यक्ति ‘जो व्यक्ति पाँचपटक लोकसेवा दिँदा असफल हुन्छ त्यो व्यक्तिले गाउँमा गएर बाँझो जमिन खने हुन्छ ।’ यसबाट के थाहा हुन्छ भने उहाँ जस्ता व्यक्तिले कृषि कार्य र कृषकलाई हेर्ने दृष्टि स्पष्ट पारिदिन्छ। के बाँझो जमिन खन्ने जति सबै असफल व्यक्तिहरू नै हुन् त । उहाँको समाजलाई हेर्ने दृष्टि उहाँको अभिव्यक्तिले समाजका लब्ध प्रतिष्ठित हुँ भन्ने व्यक्तिले कृषि कार्यलाई कसरी लिन्छ प्रष्ट हुन्छ । यो हाम्रो समाजको दरिद्र सोचाइ हो। आजभन्दा चार पाँच वर्ष अगाडि अमेरिकामा गएकी थिएँ। त्यहाँ काम गर्ने अवसर पनि मिल्यो। मेरो म्यानेजर एसियन मुलुकका एक दिन ऊ मसँग रिसायो अनि उसले मलाई भाडा माज्ने काममा हालिदियो । उसलाई के लाग्यो भने यसलाई नराम्रो काममा पारिदिए, त्यो उसको दरिद्रताको पराकाष्ठा थियो। मेरो लागि त्यो काम थियो। त्यो मेरो रोजीरोटी थियो। मेरो परिवार पाल्नु थियो । काम होचो निचो केही पनि हुँदैन । 

नेपालको इतिहासमा लिच्छवी काललाई हेर्ने हो भने स्वर्णकाल मानिन्छ किनभन्दा त्यो समयमा नेपाल खाद्यान्न लगायत विभिन्न कुरामा आत्मनिर्भर थियो। तिब्बतसँग व्यापार गर्दथ्यो। त्यो आत्मनिर्भरको जड भनेको कृषि नै थियो भन्ने कुरा इतिहासबाट थाहा हुन्छ। 
अब अहिले हाम्रो देश नेपाल भने खाद्यान्नमा परनिर्भर भइरहेको अवस्था छ। जसले गर्दा देशको आर्थिक विकास र वृद्धिमा परिचालन गर्नुपर्ने पूँजी खाद्यान्न आयात गर्दैमा अर्को देश गइरहेको कुरालाई नकार्न सकिँदैन । यदि कृषि कार्यलाई पनि सम्मान योग्य कार्य हो यसमा पनि भविष्य छ भन्न सकिएको हो भने नेपाल पनि खाद्यान्नमा आत्मनिर्भर हुन्थ्यो होला। 

लोकसेवा आयोगको उपल्लो तहमा बसेका व्यक्तिले कृषिकार्य गर्नु भनेको तँलाई सजाय हो अब तेरो जीवन असफल भयो भन्ने अभिव्यक्ति दिनु आफैमा राम्रो नहुन सक्छ। समाजको सबैको होचो अर्घेलो सहेर पनि आफ्नो कार्यमा निरन्तर लागिरहने कृषकलाई होच्याउने कार्य राम्रो होइन । देशलाई समुन्नत बनाउने र आर्थिक रुपमा विकसित गर्ने हो भने कृषिबाट नै सकिन्छ। अरुबाट नेपाललाई विकसित गर्न सकिँदैन। कृषि पेशा बिना संसार चल्दैन भन्ने कुरा पनि मनन गर्न ढिला भइसक्यो। 

लोकसेवा पास गर्ने व्यक्ति समाजका सम्माननीय व्यक्ति हुन् । उनीहरुले कोदालो समात्न हुँदैन र बाँझोबारी पल्टाउनु हुँदैन भन्ने अभिव्यक्तिले समाजले के बुझ्ने ? कृषि कार्य त असफल व्यक्तिले गर्ने कार्य हुन् भन्न खोज्नुभएको त होइन । कृषि कार्यलाई हेप्न कठैबराको दृष्टिले हेर्ने कृषकले उत्पादन नगरिदिने हो भने तपाईं जस्ता आयोगका अध्यक्षको पेट केले भर्ने । पैसा खाएर त पेट भर्दैन होला। रायोको साग इन्डियाबाट आउँदा त ओइलाउला नि ।

जीवनमा लोकसेवा पास हुनु भनेको चाहिँ कृषक लोकसेवा फेल हुनेलाई शासन गर्ने औकात बढाउने कार्य चाहिँ लोकसेवा पास हो र देशका लागि केही गर्छु भनी हिँडेका युवा पंक्तिलाई देशमा बसेर कृषि कार्य गर्ने होइन भनेर होच्याएर विदेशीको गुलाम गर्न पठाउने अभिव्यक्ति दिनु उचित हुँदैन । लोकसेवा पढ्न आउने सबैका खनेर खान पुग्ने बाँझो बारी पनि त नहुन सक्छ होइन र ! यसले समाजलाई नैरास्यता बाहेक केही दिँदैन ।

तपाईहरू जस्ता व्यक्तिको अभिव्यक्तिका कारण नै गाउँमा बुढाबुढी मात्र भएका मलामी पनि नपाउने र बाँझो जग्गाको क्षेत्रफल बढ्नु र समाजमा अपराध पनि बढ्नु हो। केही दिन अगाडि पाँच सात पटक लोकसेवा फेल व्यक्तिले आफ्नो बुवा र भाइको हत्या गरे। लोकसेवा पास हुनु मात्र जीवनको सफलता होइन यस्ता अभिव्यक्तिले सामाजिक अपराध त बढाइरहेको छैन ? यो माथिको घटनाबाट बुझ्नु जरुरी छ। 

तपाई जस्तो व्यक्तिबाट समाजले सकारात्मक सन्देशको अपेक्षा गर्दछ। युवालाई सकिन्छ उत्प्रेरित गर्नुहोस् सकिँदैन भने निरुत्साहित गर्ने कार्यहरू तत्काल रोक्न जरुरी छ। पढे गुनेका लोकसेवा पास व्यक्तिले गर्न नहुने कार्यका रुपमा कृषि कार्यलाई नलिनु उपयुक्त हुन्छ।
 
कृषि कार्यलाई सम्मान गर्दै विकसित भएका देशहरू अमेरिका, चीन, भारत आदिलाई लिन सकिन्छ। जुन ठाउँका डाक्टर, इन्जिनियर, प्रोफेसर, वकिल जस्ता व्यक्तिहरु पनि कृषि कार्यमा संलग्न रही कृषिलाई सम्मान योग्य कार्यको रूपमा हेरी कृषिलाई बढावा दिएका उदाहरणहरू प्रशस्त मात्रामा हाम्रो सामु रहेको छ। त्यसैले कृषि कार्य गर्ने व्यक्तिको हैसियत र सरकारी कार्य गर्ने व्यक्तिको हैसियत समान हो। त्यसैले त्यस्ता देश विकसित भएका छन्। हाम्रा सपनाका देशमा अमेरिका, क्यानडा, अस्ट्रेलिया आदि राष्ट्रहरु पर्दछन् जुन देशमा कामलाई सम्मान गरिन्छ त्यसैले अब हाम्रो सोचाई पनि परिवर्तन गर्नु जरुरी छ ।
 

बुधबार, ०९ माघ २०८१, १४ : ०५

प्रतिक्रिया