काठमाडौं - आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको ऋणपत्रमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गरेको हो। फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
सो मध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया