काठमाडौं - एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण सेयर साबिक सेयर धनीहरूमा निष्काशन गर्ने भएको हो । उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त भएको छ ।
आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आ.ब. २०८०\८१ को बार्षिक साधारण सभा बाट पारित १ः१ अनुपातको हकप्रद निष्काशनको व्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बाट हुनेछ ।
यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९\०५\३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरूप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगायतका परियोजनाहरूमा लगानी सम्बन्धी काम कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक सेयर धनीहरू विद्युत्, बैंक र वित्तीयक्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राहि खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया