काठमाडाैं- दक्षिण कोरियाली कार निर्माता कम्पनी किआले अमेरिकी बजारबाट ८० हजार २५५ कार फिर्ता मगाउने भएको छ। कारमा जडित विद्युत तारको समस्या देखिएपछि कम्पनीले यस्तो निर्णय लिएको हो। फ्रन्ट सिटमुनि रहेको तारले एयरब्याग र सिट बेल्टको प्रयोगमा बाधा पुर्याउने देखिएको छ, जसले सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न गराएको छ।
किआले सन् २०२३ देखि २०२५ सम्म निर्माण भएका निरो ईभी, प्लगइन हाइब्रिड (पीएचईभी) र हाइब्रिड कारलाई फिर्ता बोलाएको हो। अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन (NHTSA) का अनुसार, यी कारहरु अब डिलरमार्फत मर्मत गर्नका लागि फिर्ता ल्याइनेछ। डिलरले कारधनीलाई ई–मेलमार्फत जानकारी दिने तयारी गरेको छ।
यो घटनापछि किआले डिलरहरुलाई तुरुन्त कार फिर्ता मगाएर समस्या समाधान गर्न निर्देशन दिएको छ। फिर्ता गरिएका कारको मर्मत गरेपछि मात्र कारधनीलाई पुनः हस्तान्तरण गरिनेछ।
यसअघि पनि किआ र हुन्डईले गत नोभेम्बरमा अमेरिकी बजारबाट २ लाख ८ हजार इलेक्ट्रिक कार फिर्ता बोलाएका थिए। ती कारको ट्रान्जिस्टरमा देखिएको समस्या ब्याट्रीमा क्षति पुर्याउने सम्भावनाका कारण फिर्ता ल्याइएको थियो।
किआका कारधनीलाई यो फिर्ता प्रक्रियामा सहयोग गर्न र समस्या समाधान गर्न आग्रह गरिएको छ। कम्पनीले सुरक्षा र उपभोक्ता सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको बताएको छ।
प्रतिक्रिया