ङादी ग्रुप पावरको ६२ प्रतिशत हकप्रद शेयर बिक्री, आवेदनका लागि थपियो म्याद

विहीबार, १७ माघ २०८१, १२ : ०८

काठमाडौं- ङादी ग्रुप पावरको हकप्रद शेयर हालसम्म ६२ प्रतिशतभन्दा बढी बिक्री भएको छ।

कम्पनीले गत पुस २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो। हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

सीडीएससीका अनुसार आज बिहान १० बजेसम्म ङादी ग्रुप पावरको हकप्रदमा ४४ हजार ४७१ शेयरधनीले १ करोड १५ लाख ३६ हजार ४७८ कित्ता हकप्रद शेयर खरिदका लागि आवेदन दिएका छन्। जुन कुल कित्ताको ६२.३२ प्रतिशत हो।

यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले आवेदन दिने म्याद माघ २९ गतेसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

विहीबार, १७ माघ २०८१, १२ : ०८

प्रतिक्रिया