काठमाडौं -आइसीएफसी फाइनान्सले जारी गरेको ऋणपत्र (डिबेन्चर)को बाँडफाँड भएको छ ।
फाइनान्सले गत माघ ९ बाट बिक्री खुल्ला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा माग भन्दा अधिक आवेदन परेपछि गोला प्रथाबाट आज बाँडफाँड गरेको हो । फाइनान्सले गत माघ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
सो मध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट समानुपातिक रूपमा बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याएर १ लाख १४ हजार कित्ता सर्वसाधारणलाई बाडँफाड गरिएको हो ।
सर्वसाधारणहरूबाट जम्मा ७ हजार २४७ जना आवेदकहरूबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो । स्वीकृत विवरण पत्रमा भएको व्यवस्था अनुसार गोलाप्रथा विधिद्वारा ४ हजार ५६० जना आवेदकहरूलाई १ लाख १४ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने फाइनान्सले जानकारी दिएको छ । यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भए पश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ ।
प्रतिक्रिया