सानिमा फ्लेक्सी फन्डका इकाइहरु फागुन ६ बाट बिक्री खुला गरिने

सोमबार, २१ माघ २०८१, १० : ०४

काठमाडौं - सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फन्ड’का इकाइहरु आउँदो फागुन ६ गतेबाट बिक्री खुला गरिने भएको छ। यो फण्ड सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो।

फण्डको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ। यसको पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई सार्वजनिक निष्काशनमा ल्याइने छ। यसमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाई सामान्य लगानीकर्ताहरूले आवेदन गर्न पाउनेछन्।

लगानीकर्ताहरूले फागुन ११ गतेसम्म यस फण्डको इकाईमा आवेदन दिन सक्नेछन्। यदि सबै इकाई बिक्री नभएको खण्डमा आवेदन अवधि फागुन २० गतेसम्म बढाइने छ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर मार्फत सि–आस्बा प्रणाली अनलाइन पनि आवेदन दिन सकिनेछ।

क्रेडिट रेटिंग संस्था इक्रा नेपालले यस फण्डको कोष प्रबर्द्धकलाई ‘इक्राएनपि इस्यूअर रेटिंग ए माइनस एटडरेट’ र योजना व्यवस्थापकलाई ‘इक्रएनपि एएमसि क्वालिटि ३ प्लस’ रेटिंग प्रदान गरेको छ। यसले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ।

सानिमा फ्लेक्सी फण्डले लगानीकर्ताहरूलाई न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिने सुविधा प्रदान गरेको छ। यो फण्ड नेपालको बजारमा विविध लगानीका अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।

सोमबार, २१ माघ २०८१, १० : ०४

प्रतिक्रिया