नेपाल धितोपत्र बोर्डले पुनः सुरु गर्यो मर्चेन्ट बैंकर अनुमतिपत्र प्रक्रिया

बुधबार, २३ माघ २०८१, १७ : ५२

काठमाडाैं- नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया पुनः सुचारु गरेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै यसअघि स्थगित उक्त प्रक्रिया पुनः प्रारम्भ गरिएको जानकारी गराएको छ।

बोर्डले २०७४ सालमा मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया रोक्ने निर्णय गरेको थियो। तर, अब धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६७ अनुसार, निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्न इच्छुक संस्थाहरुलाई अनुमतिपत्र पुनः प्रदान गरिनेछ।

बोर्डका अनुसार, अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर संस्थाले यदि सार्वजनिक निष्कासन (IPO) गर्न चाहन्छ भने कम्तीमा १० वर्षदेखि मर्चेन्ट बैंकिङ सेवा सञ्चालन गरिरहेको हुनुपर्नेछ। साथै, त्यस्ता संस्थाले कम्तीमा एक अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरेको हुनुपर्नेछ।

बोर्डले नियमावली बमोजिम संस्थाले कुल पुँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था रहेको समेत स्पष्ट पारेको छ। अनुमतिपत्र प्रक्रियाको पुनः सुरुवातसँगै धितोपत्र बजारमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।

बुधबार, २३ माघ २०८१, १७ : ५२

प्रतिक्रिया