सेयर बजारमा उतारचढाव, लगानीकर्ता भन्छन्- कम्पनी र त्यसको ब्याकग्राउन्ड बुझेर मात्र लगानी गर्नुपर्छ

विहीबार, २४ माघ २०८१, १० : २६

काठमाडौं- धितोपत्रको कारोबार हुने सेयर बजारलाई पूँजी बजारको नामले पनि चिनिन्छ । यो बजारमा प्राथमिक सेयर निष्काशन तथा खरिद–बिक्री, सूचीकृत संस्थाहरूको विभिन्न प्रकारका धितोपत्र तथा वित्तीय औजारहरूको खरिद–बिक्री, सूचीकृत हुने क्रममा रहेका तथा विभिन्न कारणले सूचीकरणबाट बाहिरिएका कम्पनीहरूलाई ओटिसी बजार मार्फत कारोबार गरिने लगायतका काम कारबाहीहरु हुने गर्दछन् । विभिन्न तरिकाबाट एकत्रित गरिएको पूँजीहरूलाई सेयरको रूपमा कारोबार गर्ने व्यवस्था यो बजारमा हुन्छ । 

कुनैपनि कम्पनीले पहिलोपटक सेयर (आइपीओ) जारी गर्दा नेपाल धितोपत्र बोर्डको अनुमतिमा लगानीकर्ताले सेयर खरिद गरेका हुन्छन् भने उक्त सेयर दोस्रो बजारमा कारोबार खुल्ला भएपछि ब्रोकर कम्पनीमार्फत् नेप्सेमा सुचीकृत कम्पनीको सेयर खरिदब्रिकी सुरु हुन्छ । दोस्रो बजारमा कारोबार सुरु भएपछि लगानीकर्ताको बजारबारे चासो बढ्न थाल्छ । घटबढ हुने अनुमान गरेबमोजिम नहुँदा सेयर बजारलाई कस्तो किसिमको बजार हो भनेर व्याख्या गर्न गाह्रो हुने विश्लेषकहरुले बताउने गरेका छन् ।

बजारले चालु आव सुरु भएयता नै धेरै उतरचढाव पार गरेको छ । खासगरी साउन महिनामा नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि देखिएको थियो । गत असार १६ गते २०३७ बिन्दुमा रहेकोमा नेप्से परिसुचक साउन २९ गते २९२३ बिन्दुमा आइपुगेको थियो । भने असोजमा २४४४ बिन्दु मा पुगेको थियो । यसपछिको बजार झनै बढ्ने अनुमान भइरहेको थियो तर बजार सोचेअनुरुप भने भएको देखिएन ।

नेपालको सेयर बजार गत वर्ष पनि नेप्से परिसुचक उत्तरचढावमै चलेको थियो । सेयर बजार घटबढ हुनु स्वाभाविक प्रकृया भएको भन्दै लगानीकर्ता प्रदीप पोखरेलले हाल ब्याजदर घट्ने क्रम बढेकोले पनि बजारलाई पोजेटिभ रूपमा पनि लिन सकिने तर नयाँ लगानीकर्ताले भने विचार गरेर लगानी नगर्दा घाटा व्यहोर्नु परेको बताए । 

उनले भने,‘पुरानो लगानीकर्ताले बजार घटेको र बढेको दुवै अनुभव लिईसकेको हुन्छन् उनीहरूलाई खासै प्रभाव पर्दैन तर नयाँ लगानीकर्ता बजार घट्दा मानसिक तनाव लिने आत्तिने र बढ्नेबित्तिकै खुसी भइहाल्ने अवस्था छ । पैसा कमाउने कुनै पनि सर्टकर्ट बाटो हुँदैन त्यसको लागि लगानीकर्तामा बजारको अवस्था राम्रो हुँदासम्म कुर्ने धैर्यता पनि हुनुपर्छ । त्यसैले कम्पनी र त्यसको ब्याकग्राउन्ड बुझेर मात्र लगानी गर्ने हो भने बजार नराम्रै छ फसिन्छ नै भन्ने अवस्था छैन ।’ 


प्राविधिक विश्लेषकहरूले विगतको तथ्यांकको आधारमा हेरेर बजार घट्छ या बढ्छ भनेर अनुमान लगाउँछन् । प्राविधिक विश्लेषणका औजारहरूले कहाँसम्म बजार पुग्न सक्छ भनेर अनुमान पनि गर्न सक्ने बनाउँछ । तर ती अनुमान गरिएकै आधारमा बजार त्यो तहमा भने नपुग्न सक्छ । बजार उच्च विन्दुमा पुग्दा पनि र तल्लो विन्दुमा पुग्दा पनि अबको यात्रा के हुन्छ भन्ने विषय भने अनुमान गर्ने विषय मात्र हो । 

सेयर बजारमा बजार बढ्दा लगानी गर्नेहरू थपिइराखेको हुन्छन् । बजार बढ्दा कारोबार रकममा दिनँहु रकेर्ड बन्दै जान्छन् । तर बजार घट्नेबित्तिकै लगानीकर्ता घट्दै जान्छन् र कारोबार रकममा पनि सोही अनुरुप गिरावट आउने लगानीकर्ता सुदीप काफ्ले बताउँछन् । उनले भन्छन्, ‘नेपाल बैंकिङ, बीमा, उत्पादन, र जलविद्युत्लगायत कम्पनीहरुको मिश्रित बजार हो । यीनीहरुमध्ये जुन कम्पनी जतिबेला पनि नाफा तथा घाटामा जान सक्ने किसिमका हुन् । त्यसको लागि लगानीकर्ताले योजनाबद्ध रणनीति, दीर्घकालीन सोच र विविधीकरणको सिद्धान्त अपनाएर बजारमा प्रवेश गर्नु राम्रो हुन्छ ।’

नेपालमा धितोपत्रसम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको ‘सेक्युरिटी खरिद विक्री केन्द्र’ स्थापनाको १७ वर्षपछि नेपाल परिवर्तन गरी स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० मा परिवर्तन भयो । नेप्सेले धितोपत्रको दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्य गर्र्दछ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीको तीन वर्षे कार्यकाल माघ २५ गते सकिँदैछ । 

उनको कार्यकाल सकिँदै गर्दा अबको प्रमुख कार्यकारी अधिकृत पुँजी बजारबारे जानकारी भएका व्यक्तिलाई नियुक्ति गर्न नेप्से कर्मचारी संघले माघ २२ गते विज्ञप्ति पनि निकालेको थियो । खासगरी कार्कीको कार्यकालमा उनको पूँजी बजारबारे जानकारी नभएको प्रश्न उठिरहेको थियो । लगानीकर्ता प्रदीप पोखरेलले प्रमुख कार्कीले गर्नुपर्ने काम धेरै भएपनि आफूले कुनैपनि परिवर्तन अनुभव नगरेको बताए । 

अर्का लगानीकर्ता सुदीप काफ्लेले प्रमुख कार्कीको बारेमा बोल्दै भने, ‘उहाँले आफ्नो कार्यकालमा केही व्यवस्थापन गरेको देखिएपनि बजारको स्थायित्व र लगानीकर्ताको विश्वास बढाउने विषयमा ठोस उपलब्धि भने नगरेको देखियो । अब नेप्सेका सिइओ मात्र होइन, नियामक निकायहरुले उचित कार्य गर्नुपर्छ ।’

लगानीकर्ता पोखरेल सेयर बजार घटबढ हुनुका पछि एक मात्र नभई धेरै कारण रहेको र यसलाई नियन्त्रण तथा नियमनका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने आफूले लगानीको क्रममा बुझेको बताउँछन् । आजको अर्थसँग पोखरेलले भने,‘ बैंकले ब्याजदर बढाउँदा बैंकमा जम्मा हुने पैसा बढ्ने र बजार ओरालो लाग्छ । अहिले केही बैंकहरुले ब्याजदर घटाउन थालेका छन् यो क्रम बढ्नुपनि पर्छ । साथै स्थिर सरकार हुन सकेपनि बजार सकारात्मक बन्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको धितो कर्जा दिनका लागि सहज बनाइदिने हो भने पनि बजार बढ्ने देखिन्छ ।’ 

बजारमा हुने सकारात्मक तथा नकारात्मक हल्लाले पनि लगानीकर्ताको मनोविज्ञानमा असर पार्ने देखिन्छ । यसका लागि सरकार, नेप्से, सेबोन तथा पूँजी बजारसँग सम्बन्धित संस्थाहरूले पारदर्शिता, नीतिगत स्थायित्व र लगानीकर्तालाई प्रोत्साहन गर्ने सुधारात्मक कार्यक्रम ल्याउनु आवश्यक छ ।

विहीबार, २४ माघ २०८१, १० : २६

प्रतिक्रिया