ठुंगरम इन्टरनेशनल एकेडेमीको जग्गा हिनामिना प्रकरण : प्रहरी लगाएर सञ्चालक पक्राउ गर्ने योजनामा पाटन उच्च अदालतको रोक

शुक्रबार, २५ माघ २०८१, १७ : ३१

काठमाडौं- बौद्ध धर्मगुरु ठुंगरम ग्याल्टुल(रिन्पोछे) शेर्पाद्वारा स्थापित ठुंगरम इन्टरनेशनल एकेडेमीका सञ्चालकहरुलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

हात्तिगौंडा बाँसबारीस्थित उक्त विद्यालयको सञ्चालक समितिमै रहेर अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एकेडेमीको जग्गा हिनामिना गरेको विद्यालयका सञ्चालकहरुले अरोप लगाएका थिए । यही प्रकरण मुद्दामामिलाको चरणमा पुगेर प्रहरीले उल्टै सञ्चालकहरुलाई नै एकेडेमी परिसरबाटै पक्राउ गर्ने तयारी गरेपछि उनीहरु उच्च अदालत पाटन पुगेका हुन् । 

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको एकल इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै ठुंगरम  एकेडेमीका सञ्चालकहरुलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

उक्त एकेडेमीका संस्थापक सञ्चालक रहेका धर्मगुरु ठुंगरम ग्याल्टुल(रिन्पोछे)शेर्पा प्राय मुलुक बाहिर नै रहने भएकाले उनको अनुपस्थितिमा अर्का सञ्चालक रहेका कर्माछिरिङ शेर्पाले सरकारी निकायलाई प्रभावमा पारी जग्गा हिनामिना गरेको आरोप छ । उनले एकेडेमीको नाममा रहेको २९ रोपनी जग्गा चार करोड ६५ लाखमा बिक्री गरेको त्यसका सञ्चालकहरुले आरोप लगाएका छन् ।

शैक्षिक संस्थामा भूमाफिया हाबी- एन्फा पूर्वअध्यक्ष शेर्पाद्वारा कीर्ते कागजात बनाएर ठुंगरम इन्टरनेशनल एकेडेमीको २९ रोपनी जग्गा बिक्री

उक्त जग्गा हिनामिना गर्ने कानुनी कारबाहीको माग गरी जग्गा एकेडेमीकै मातहत ल्याउन पहल गर्दै विद्यालयका सञ्चालकहरुले विभिन्न न्यायिक निकायहरु गुहार्दा पनि सहयोग नपाएको गुनासो गरेका थिए । उनीहरुले उल्टै सत्ता र शक्तिको आडमा आफूहरुमाथि प्रहरी लगाएर धरपकड गर्न खोजिएको बताउँदै आएका छन् ।

पठनपाठन भइरहेकै बेला विद्यालय परिसरबाटै पक्राउ गर्ने तयारी गरेपछि अदालत पुगेका एकेडेमीका सञ्चालकहरुको पक्षमा उच्च अदालत पाटनले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

475486049_1949859135814067_6385730818911664891_n

शुक्रबार, २५ माघ २०८१, १७ : ३१

प्रतिक्रिया