काठमाडौं- नेपालले बालबालिकामा हुने क्यान्सर उपचारका लागि एउटा ऐतिहासिक सफलता प्राप्त गरेको छ। ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत नेपालले अत्यावश्यक औषधिको पहिलो चरणको खेप आइतबार प्राप्त गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पहिलो चरणमा १० प्रकारका जीवनरक्षक औषधि ल्याइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाल कार्यालयले दुई हजार तीन सयभन्दा बढी प्याक औषधि नेपालमा ल्याएको छ।
सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओको समन्वयमा खरिद गरिएको यो औषधि नेपाललाई निःशुल्क उपलब्ध गराइएको हो। सन् २०२१ मा स्थापित यो ग्लोबल प्लेटफर्मले संसारभरका क्यान्सरपीडित बालबालिकाको उपचारमा गुणस्तरीय औषधि पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
नेपाल सरकारले गत मङ्सिर १ गतेदेखि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ। अब यी अस्पतालमा उपचाररत बालबालिकाले यो औषधि निःशुल्क पाउनेछन्।
नेपालमा हरेक वर्ष करिब ९०० बालबालिकामा क्यान्सर देखापर्छ। तर औषधिको अभाव र विविध चुनौतीका कारण एकतिहाइ मात्र बालबालिकाले उचित उपचार पाउने गरेका छन्। नेपाल सन् २०२० मा डब्लुएचओको ‘ग्लोबल इनिसिएटिभ अफ चाइल्डहुड क्यान्सर’ को प्राथमिकतामा परेको थियो। सन् २०२२ मा नेपाल विश्वका छ राष्ट्रमध्ये एक भई ग्लोबल प्लेटफर्ममा सहभागी भएको थियो।
स्वास्थ्य मन्त्रालयले सन् २०२४ को मार्चमा पाँच वर्षसम्म ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क पाउने सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ। डब्लुएचओका अनुसार हाल नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना ३० प्रतिशतभन्दा कम छ, जुन उच्च आय भएका देशमा ८० प्रतिशतभन्दा बढी छ। यो कार्यक्रमले नेपालमा बालबालिकाको क्यान्सर उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया