काठमाडौं- रसुवा जिल्लामा हालै आएको बाढी र पहिरोले जनजीवनमा मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा समेत गम्भीर असर पु¥याएको छ। यसले निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरू र भन्सार क्षेत्रसमेत प्रभावित बनेका छन्।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेको छ। नाडाले सार्वजनिक वक्तव्यमार्फत प्राकृतिक विपत्तिबाट प्रभावित भएका सबै व्यक्तिहरू, व्यवसाय र समुदायहरूमा गहिरो सहानुभूति प्रकट गर्दै संयमित र धैर्यवान रहन आग्रह गरेको छ।
“आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ,” नाडाले भनेको छ, “हामी यस संकटको घडीमा पीडितहरूसँग ऐक्यबद्धता प्रकट गर्दछौं।”
नाडाले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सबै सदस्य, व्यवसायी तथा सरोकारवालालाई सहकार्य र करुणाका साथ अघि बढ्न आह्वान गर्दै यदि यो कठिन परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव भएमा जानकारी गराउनसमेत सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
नाडाले विगतमा पनि विभिन्न विपद् र आपत्कालीन अवस्थाहरूमा अटोमोबाइल क्षेत्रको तर्फबाट राहत तथा सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै, आगामी दिनमा समेत आवश्यक सहयोगका लागि तयार रहने प्रतिबद्धता जनाएको छ।
प्राकृतिक विपत्तिबाट सिर्जित अवस्था नियन्त्रणबाहिर रहे पनि संयमता, समन्वय र सहकार्यका माध्यमबाट यसलाई पार गर्न सकिने नाडाको विश्वास छ।
प्रतिक्रिया