काठमाडौं- ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक सेयर (आइपीओ) मा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन हो। लगानीकर्ताहरूले बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीले पहिलो चरणमा माघ २१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता सेयर जारी गरेको हो।
त्यसमध्ये १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आइपीओमा आवेदन दिन चाहने लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटल लिमिटेड यस आइपीओको बिक्री प्रबन्धक रहेको छ।
सीडीएससीका अनुसार हिजो साँझसम्म ५० हजार २३४ आवेदकबाट १३ लाख ३४ हजार ६८० कित्ताका लागि आवेदन परिसकेको छ। यो मागभन्दा ७.४२ गुणा बढी आवेदन हो।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। भाग्यमानी १८ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले सेयर पाउनेछन्।
केयर रेटिङ नेपालले ओम मेगाश्री फर्मास्युटिकल्सलाई केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।
प्रतिक्रिया