काठमाडाैं- सुर्खेत, वीरेन्द्रनगरका युवा विस्तारै परम्परागत सोच बदल्दै स्वदेशमै व्यावसायिक कृषि पेसामा समाहित हुन थालेका छन्। कुनै समय कृषि कर्मलाई कम सम्मानको दृष्टिले हेरिन्थ्यो, तर अहिले नयाँ सोच र प्रविधिको समावेशीकरणले यस क्षेत्रलाई आकर्षक र लाभदायक बनाउँदै छ।
वीरेन्द्रनगर–९ लाटीकोइलीका दीपेन्द्र कार्की कृषि पेसामा लागेकाे १७ वर्ष पूरा भइसकेको छ। “सुरुआत आफैँबाट गरौँ, परिवर्तन सम्भव छ” भन्ने सोच राख्ने कार्कीले विदेशको मोह त्यागेर आफ्नै भूमिमा कृषि व्यवसाय स्थापना गरेका हुन्। इजरायलमा १४ महिना बसेर आधुनिक कृषि प्रणाली सिकेका उनि अहिले आफ्नो सीपलाई व्यावसायिक गाईपालन र तरकारीखेतीमा प्रयोग गर्दै आएका छन्।
उनले कोपिला एग्रिकल्चर एण्ड लाइभस्टक प्रालि नामक फार्म स्थापना गरी २४ वटा गाई पाल्दै आएका छन्। ३२ लाख रुपैयाँको व्यक्तिगत लगानीमा सञ्चालित यस फार्मबाट दैनिक ११० लिटर दूध उत्पादन हुने गरेको छ, जसको मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको छ। गाईपालन र तरकारीखेतीबाट राम्रो आम्दानी भएको बताउने कार्की आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्ट छन्।
कार्कीका अनुसार टनेलबाट उत्पादन हुने घाँस गाईलाई खुवाइन्छ भने गाईको मल तरकारीखेतीमा प्रयोग गरिन्छ, जसले पूर्णतः प्राङ्गारिक कृषि प्रणाली निर्माण गर्न सहयोग पुगेको छ। उनले वार्षिक ८५ टन प्राङ्गारिक मल उत्पादन गर्दै आएका छन्, जसलाई होलसेलमा प्रतिकिलो २० रुपैयाँ र फुटकरमा २५ रुपैयाँमा बिक्री गर्दै आएका छन्।
युवा कृषक गोपालराज सुनारले पनि विदेश जानुको सट्टा स्वदेशमै दुई बिघा जग्गामा तरकारीखेती गर्दै आइरहेका छन्। जलवायुमैत्री कृषि प्रवर्द्धन गर्न वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा उनले स्थायी टनेल निर्माण गरेका छन्। उनको फार्ममा पाँचवटा पक्की र दुईवटा कच्ची टनेल छन्, जहाँ साग, काउली, भ्यान्टा, बोडी, सिमी, टमाटर र च्याउ खेती गरिन्छ। विषादीरहित तरकारी उत्पादन गर्ने उनको सोचका कारण बजारमा खोजी गर्नुपर्ने अवस्था नरहेको सुनार बताउँछन्।
यस्तै, वीरेन्द्रनगर–१० नयाँगाउँका ज्ञानबहादुर चौधरी व्यावसायिक च्याउ खेतीमा संलग्न हुनुहुन्छ। उनि दैनिक सात किलो च्याउ बेच्ने गर्छन् भने सिजनमा आलु, प्याज, धनियाँ, लसुन, खुर्सानी बिक्री गर्छन्। “स्वस्थकर उत्पादनले बढी आम्दानी मात्रै होइन, उपभोक्तालाई पनि फाइदा गर्छ,” उनि भन्छन्।
वीरेन्द्रनगर नगरपालिकाका कृषि अधिकृत निशा केसीका अनुसार नगरपालिकाले किसानलाई अर्गानिक कृषि प्रणाली अपनाउन विभिन्न कार्यक्रम ल्याएको छ। नगरका १६ वटै वडामा पकेट क्षेत्र पहिचान गरी ५० प्रतिशत अनुदानमा पक्की टनेल निर्माण, बीउबीजन वितरण तथा कौशीखेती प्रवर्द्धनमा सहयोग पुर्याइरहेको छ।
युवा पुस्ताले कृषि पेसालाई आधुनिक सोच र प्रविधिसँग जोड्दै आत्मनिर्भरताको बाटो रोज्दै जानु हर्षको विषय हो। विदेशको दौडधूपभन्दा आफ्नै माटोमा पसिना बगाएर सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश यी युवा कृषकले दिएका छन्।
प्रतिक्रिया