स्वरोजगार लघुवित्त फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्दै

मंगलबार, ०६ फागुन २०८१, ०९ : ०६

काठमाडाैं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) मार्फत शेयर जारी गर्ने भएको छ। लघुवित्तले कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो।

न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने यस एफपीओमा लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। तर, सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ।

क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले लघुवित्तलाई 'इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस' प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको यस एफपीओका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र 'मेरो शेयर' अनलाइन सफ्टवेयर मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हाल ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ। स्वरोजगार लघुवित्तको यो एफपीओ लगानीकर्ताका लागि सुनौलो अवसर बन्न सक्ने विश्वास गरिएको छ।

मंगलबार, ०६ फागुन २०८१, ०९ : ०६

प्रतिक्रिया