काठमाडाैं- भारतको उडिसास्थित केआईआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनपछि नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गर्दै धमाधम स्वदेश फर्किरहेका छन्। एक सय २६ जना विद्यार्थी रक्सौल नाका हुँदै नेपाल छिरे, कोही अलमलिएका छन्, कोही अझै त्रासको छायाँमा छन्। तर, नेपाल सरकार भने आफ्नै धूनमा मस्त छ, सरकारका हाकिमहरूले तिनै पुराना ‘सब ठीक छ, चिन्ता नगरौं, वार्ता भैरहेकाे छ...’ शैलीका बयान फेरि दोहोर्याएका छन्।
विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले मानसिक यातना र धम्की दिएको गुनासो गरे। डराएका विद्यार्थीहरू फर्किए, परिवारहरू आक्रोशित भए, साथीहरू अन्योलमा परे। उता सरकार भने भारतीय पक्षसँग गम्भीर वार्ता गरेको अभिनय गर्दै ‘सबै मिलिसक्यो’ भन्दै आत्मसन्तुष्ट मुद्रामा देखियो। विद्यार्थीहरूको सुरक्षाका लागि सरकारको चासो छैन, तिनका आँसु पुछ्न कसैलाई फुर्सद छैन, बरु कलेज प्रशासनले माफी मागेको खबरले सरकारलाई राहत दिएको छ।
वीरगञ्जमा विद्यार्थीहरूले भारतीय महावाणिज्य दूतावासअगाडि न्यायको माग गर्दै प्रदर्शन गरिरहेका थिए। तिनीहरूका आवाज बुलन्द थिए, तिनीहरू आक्रोशित थिए, तर सरकारचाहिँ कानमा तेल हालेर बसेझैं देखिन्थ्यो। सरकारका अधिकारीहरू कूटनीतिक प्रयास सफल भएको दाबी गर्दै मुस्काइरहेका थिए, मानौं विद्यार्थीहरू कुनै रमाइलो भ्रमण सकेर घर फर्किएझैं।
विद्यार्थीहरूले कलेज प्रशासनले माफी मागेर मात्रै समस्याको समाधान नहुने बताए। उनीहरू सुरक्षित महसुस गर्न पाएनन्, उनीहरूको गुनासो सुन्ने कोही छैन। सरकारको व्यवहार हेर्दा लाग्छ, ‘हामीले कुरा गर्यौं, माफी मगायौं, अब के चाहियो र?’ भन्ने भावमै सीमित छ। विदेशमा नेपाली विद्यार्थीमाथि अन्याय हुँदा सरकारको जिम्मेवारी के हो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ।
सरकारका लागि विद्यार्थीको सुरक्षाभन्दा आफ्नो छवि बचाउनु ठूलो प्राथमिकता देखिएको छ। यहाँ परराष्ट्र नीतिको कुराभन्दा पनि ‘सबै मिल्यो’ भन्ने सन्देश प्रवाह गर्नमै ध्यान दिएको देखिन्छ। विद्यार्थीहरूलाई परेका पीडा महसुस गर्नुभन्दा सरकारको ध्यान अहिले ‘व्यवस्थापन सफल भयो’ भन्ने प्रचार गर्नतिर देखिन्छ।
विद्यार्थीहरू फर्किएका छन्, न्यायको माग गरिरहेका छन्, तर सरकारचाहिँ आफूलाई श्रेय दिने हतारमा छ। विद्यार्थीको सुरक्षाका लागि कडा कदम चाल्नुपर्ने बेला भएको छ, नत्र आजको अन्याय भोलि दोहोरिन्छ, विद्यार्थीहरू सधैं असुरक्षित रहनेछन्। सरकारको ‘सब ठीक छ’ भन्ने मन्त्रले विद्यार्थी सुरक्षित हुँदैनन्, सुरक्षा दिलाउने ठोस कदम चाल्नुपर्छ।
प्रतिक्रिया